म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा जलविद्युत् आयोजनाको सहयोगमा क्लबको भवन निर्माण भएको छ । नौ दशमलव तीन मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजनाले उपलब्ध गराएको रु १० लाख सहयोगबाट बँसीगाउँमा अन्नपूर्ण युवा क्लबको भवन निर्माण भएको हो । आयोजनाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सो सहयोग गरेको थियो । भवनमा तला थप गरेर एक सय जना क्षमताको सभाहल र कार्यालय बनाइएको क्लबका अध्यक्ष टकबहादुर पुनले जानकारी दिनुभयो । भवन निर्माणपछि तालिम, बैठक, गोष्ठी सञ्चालन गर्न सहज भएको छ । भवनको बिहीबार प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर) र गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले उद्घाटन गर्नुभयो । कार्यक्रममा सांसदद्वयले नारच्याङको पर्यटन विकासका योजना भित्र्याउन पहल गर्ने बताउँदै खेलकुद र संस्कृतिलाई पर्यटनसँग जोड्नुपर्नेमा जोड दिनुभयो । यसैगरी नारच्याङमा प्रथम अन्नपूर्ण युवा क्लब कप खेलकुद प्रतियोगिता पनि बिहीबारदेखि नै सुरु भएको छ । पाँच दिनसम्म खुला पुरुष, महिला भलिबल र पुरुष बास्केटबल प्रतियोगिता हुने अध्यक्ष पुनले जानकारी दिनुभयो । पुरुष भलिबल र बास्केटबल प्रतियोगितामा विजेता र उपविजेतालाई कपसहित नगद रु एक लाख पाँच हजार पाँच सय ५५ र ६६ हजार छ सय ६६ प्रदान गरिने भएको छ ।रासस