स्याङ्जामा शीतभण्डारमा भण्डारण गरिएको सुन्तला कुहिएपछि किसान चिन्तित भएका छन् । स्याङ्जा शीतभण्डार सहकारीले सञ्चालनमा ल्याएको शीतभण्डारमा भण्डारण गरिएको केही सुन्तला कुहिएको हो । किसानले बढी आम्दाी गर्ने उद्देश्यका साथ सुन्तला शीतभण्डारमा भण्डारण गरेका थिए । तर उल्टै कुहिएपछि घाटा हुने भन्दै उनीहरु चिन्तित बनेका हुन् । पुतलीबजारका रामबन्धु अर्यालले शीतभण्डारमा ५० क्यारेट सुन्तला भण्डारण गर्नुभएको थियो । केही दिन अघि हेर्दा छ÷सात क्यारेट जति सुन्तला कुहिएको उहाँले बताउनुभयो । अब उहाँ चाँडै सुन्तला बिक्री गर्ने तयारीमा हुनुहुन्छ । अहिले बोटबाटै प्रतिकिलो रु ८५ देखि रु ९० सम्ममा बिक्री भइरहेको छ । “कुहिन थालेपछि शीतभण्डारमा राखिएको सुन्तला प्रतिकिलो रु ५० देखि रु ६० सम्ममा बिक्री गर्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो । पुतलीबजार करेन्डाँडाका कृष्णजङ्ग केसीले भण्डारण गर्दाको बेला रु आठ लाख मूल्य पर्ने दुईसय ६६ क्यारेट सुन्तला भण्डारण गर्नुभयो । सुन्तला कुहिएको पाएपछि उहाँ सस्तैमा सुन्तला बिक्री गर्न थाल्नुभएको छ । “मूल्य बढी पाइने आहले भण्डारण गरे, उल्टै घाटा लाग्ने अवस्था आयो”, केसीले भन्नुभयो । उहाँले भण्डारण गर्नुभएको सुन्तलाका क्यारेटबाट कुहिएका निकालेर राम्रा सुन्तला प्रतिकिलो रु ६५ का दरले बिक्री गर्नुभयो ।रासस