बागलुङको अमलाचौरका टीका सुदारा काठको काम गर्ने सीपका धनी हुनुहुन्छ । साठी वसन्त पार गरिसक्दा पनि उहाँले दार (राम्रो काठ) का ठेका–ठेकीलगायत अन्य घरायसी सामान बनाउनुहुन्छ । आफूले बनाएका कलात्मक ठेका–ठेकी बिक्री गर्न उहाँ माघेसङ्क्रान्ति मेला एवं सातौँं म्याग्दी महोत्सव बेनीमा पुग्नुभएको थियो । केहीदिनसम्म मेलामा बस्दा दुई जोडी ठेकाठेकी मात्र बिक्री भएपछि उहाँ गाउँ फर्किनुभयो । त्यस्तै, म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका सम्मरबहादुर विक बाँस र निगालाको चोयाँबाट कृषि घरेलु सामग्री बनाउनुहुन्छ । ६५ वर्षसम्म डोका, डाला, थुन्से, भकारी, मान्द्रलगायतका सामग्री बनाएर छ जनाको परिवारको खर्च चलेको थियो । तर अहिले रैथाने सीपबाट बनेका सामाग्री बजारमा खपत हुन छाडेका छन् । प्लास्टिकका आयातित सामाग्री सस्तोमा उपलब्ध हुने भएपछि हस्तकलाबाट निर्मित सामाग्रीको बिक्री रोकिएको हो । “हामीसँग सीप छ, तर सीपको सम्मान छैन् । सिप प्रयोग गरेर बनाइएका सामग्री बिक्री गर्ने ठाउँ छैन”, सम्मरबहादुरले भन्नुभयो । पहिले घरखर्च गर्न समस्या नभएको तर अहिले आम्दानीको स्रोत नभएपछि ऋण गरेर खर्च गर्नुपर्ने उहाँले बताउनुभयो । प्लास्टिकका सामग्रीको प्रयोग बढे्पछि आफ्नो सीप थला परेको उहाँको भनाइ छ ।रासस