अघिल्ला वर्षमा ताप्लेजुङका उत्तरी हिमाली क्षेत्रमा पुस लागेदेखि नै हिमपात सुरु हुन्थ्यो । अग्ला पहाडका चुचुरा र हिमाल हिउँले सेताम्मे देखिन्थे । तर यो वर्ष माघ महिना मध्य हुन लाग्दा पनि हिमपात भएको छैन । सधँै हिउँले सेताम्मे देखिने डाँडाकाँडा कालापत्थर झैँ देखिन्छन् । स्थानीयवासी छेतेन शेर्पाका अनुसार करिब तीन हजार मिटरको उचाइमा पर्ने ओलाङ्चुङगोलामा अघिल्ला वर्षको माघ महिनामा दुई फिट भन्दा बढी हिउँ जम्थ्यो । उच्च क्षेत्रमा पर्ने मानव बस्ती याङ्मा, घुन्सालगायतका क्षेत्रमा पनि हिउँ परेको छैन । पुसदेखि नै हिउँ पर्ने र चिसो बढ्ने भन्दै उच्च क्षेत्रका कतिपयले फागुन अन्तिमदेखि घर छाडेर अन्यत्र निस्किएका छन् । बर्सेनि हिमपातको समयमा याङ्मा, घुन्सा, ओलाङ्चुङगोला लगायतका कतिपय मानिस अन्यत्र जाने गर्छन् । सधँैका वर्षमा जस्तो चिसो पनि नबढेको स्थानीयवासीले बताए । लामो समयदेखि वर्षा नभएको र मौसम सफा रहेको ओलाङ्चुङगोलाका छेतेन शेर्पाको भनाई छ । “विगतका वर्षमा पुसदेखि नै हिमपात सुरु हुन्थ्यो, अहिले न वर्षा न त हिउँ नै । पूरै खडेरी चलेको छ, दिनहुँ टन्टलापुर घाम लाग्छ, चिसो हुनेबेलामा न्यानो छ”, शेर्पाले भन्नुभयो । समयमा वर्षा र हिउँ नपर्दा किसानलाई समस्या भएको उहाँले बताउनुभयो । आलु रोप्ने मौसम नजिकिँदै गएकाले यतिबेलादेखि नै जमिनमा चिस्यान आवश्यक हुने शेर्पाको भनाइ छ । “उच्च क्षेत्रमा बसोबास गर्नेको मुख्य खेती आलु पनि हो, आलु रोप्ने बेला नजिकिएको छ, आलु रोप्ने समयमा चिस्यान भएन भने समस्या हुन्छ, अन्य तरकारी फलफुल खेतीसमेत लाउन पाइदैन”, उहाँले भन्नुभयो । यस्तै आगलागीकोसमेत जोखिम हुने शेर्पाले बताउनुभयो ।रासस