गाउँका विकास आयोजनाका कामहरू गुणस्तरहीन र समयावधि बढी लाग्ने स्थिति भएपछि पर्वतको कुश्मा नगरपालिका–८ चुवाका स्थानीयवासी जागरूक बन्न थालेका छन् । उपभोक्ता समितिमार्फत निर्माणाधीन सडक, स्वास्थ्य चौकी, नाली निर्माण लगायत योजनाको लौरी पालो लगाएर कामको उनीहरुले रेखदेख गर्ने गरेका छन् । नेपाली परम्परागत प्रचलनअनुसार कुनै कुराको संरक्षण तथा रेखदेखका लागि लौरो लिएर आलोपालो रेखदेख गर्नुलाई लौरी पालो भनिन्छ । स्थानीय उपभोक्ता लक्ष्मण पौडेलले स्थानीय राजनीतिक दल, समाजसेवी तथा प्रभावित उपभोक्ताको सहमतिमा लौरी पालो अभियान सञ्चालन गरिएको बताउनुभयो । “पूर्वाधार निर्माणका काममा निर्माण व्यवसायीले गुणस्तरहीन काम गर्ने हुँदा बनेका संरचनाहरू केही महिनामै प्रयोग विहीन हुने अवस्था र गुनासाहरू हामीले देख्दै र सुन्दै आएका हौँ”, उहाँले भन्नुभयो, “निर्माणको समयमा उपभोक्ताहरू जागरूक नहुँदा विकासका काम टिकाउ नभएको कुरालाई आत्मसात् गर्दै हामी पालो लगाएर कामको रेखदेख गर्ने गरेका छौँ ।” स्थानीय राजनीतिक दल, समाजसेवी तथा प्रभावित उपभोक्ताहरूको सहमतिमा लौरी पालो अभियान सञ्चालन गरिएको स्थानीय दिनेश सुवेदीले बताउनुभयो । नाली निर्माणका काममा प्राविधिक नियमानुसार गिट्टी, बालुवा र सिमेन्टको मात्रा मिलाएर मजदुरलाई काममा लगाउने गरी उपभोक्ताहरूले अनुगमन गर्ने गरेका छन् ।रासस