स्वास्थ्य संस्थाको भवन निर्माण गर्ने सम्झौता गरे पनि लामो समयसम्म अलपत्र पार्ने पाँचवटा निर्माण कम्पनीमाथि सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय पर्साले कारबाही गरेको छ । रौतहट, बारा र पर्सा जिल्लामा सञ्चालित विभिन्न आठवटा स्वास्थ्य संस्था निर्माणको सम्झौता गरेर पनि लामो समयसम्म काम सम्पन्न नगर्ने निर्माण कम्पनीमाथि कारबाही गरिएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय पर्साका प्रमुख झपटबहादुर थापाले जानकारी दिनुभयो । योजनाको म्याद समाप्त भएर पटक–पटक म्याद थप गरे पनि लामो समयसम्म कार्य सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राखेर ठेक्का तोडेर पुनः ठेक्कामार्फत काम अघि बढाइएको प्रमुख थापाले बताउनुभयो । प्रमुख थापाका अनुसार अजम्बर÷शिवराम कन्स्ट्रक्सन जेभी दोलखा, स्वस्तिक श्री विनायक कन्स्ट्रक्सन हेटौँडा, डाँफे÷तिरुपति जेभी पर्सा, टौदह कन्स्ट्रक्सन चाल्नाखेल–५ काठमाडौँ, म्याग्लुङ÷टौदह÷पञ्चकन्या जेभी काठामाडौँ र शिवराम कन्स्ट्रक्सन कम्पनी प्रालि दोलखामाथि कारबाही गरी ठेक्का तोडिएको छ । पटक पटक स्पष्टीकरण सोधिए पनि सन्तोषजनक जवाफ नआएको र निर्माण गर्नेतर्फ चासो नदेखाएकाले उनीहरुसँगको ठेक्का तोडिएको प्रमुख थापाको भनाइ छ ।रासस