मधेसका प्राचीन मिथिला क्षेत्रका किसानमा श्रीपञ्चमी पर्वको उल्लास छाउन सकेन । पर्वमा अबको एक वर्षभरि कृषि काम गर्ने श्रमिक नपाएपछि किसानलाई पर्वले उल्लास दिन नसकेको हो । मिथिलामा वसन्तपञ्चमी पनि भनिने माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्वकै दिन वर्षभरि कृषि काम गर्ने श्रमिकको टुङ्गो लगाएर पुज्ने चलन छ । यो परम्परा थेग्न श्रमिक नपाएपछि किसान निराश भएका हुन् । “माघ लागेदेखि नै जन (कृषि कार्यका श्रमिक) खोजेको खोज्यै छु, कहीँ काम गर्ने मान्छे भेटिएनन्”, बर्दिबास नगरपालिका–९ पशुपतिनगरका ६० वर्षीय किसान महेन्द्र महतोले दिक्क मान्दै भन्नुभयो, “श्रमिक पुज्ने त भोलि बिहीबार नै हो, मान्छे नपाएपछि अब के गरुँ ?” श्रमिक नपाएर पर्वमा पुज्ने विधि गर्न नपाएपछि किसानलाई पर्वको उल्लास नछाउने महेन्द्रको भनाइ छ । महेन्द्रजस्तै छिमेककै भङ्गाहा–४ रामनगरका ५५ वर्षीय किसान गङ्गाराम महतोले पनि श्रमिक भेट्नुभएको छैन । आफ्नो बस्ती र छिमेकका बस्तीमा श्रमिक नभेटेर दिक्क हुनुभएका गङ्गाराम भन्नुहुन्छ, “यसपालि पनि श्रीपञ्चमी पर्वमा श्रमिक पुज्न पाइने छाँट छैन ।” गत वर्ष पनि श्रीपञ्चमी पर्वमा श्रमिक पुज्न नपाइएको बताउने गङ्गाराम अब खेती गरेर केही गरौँला भन्ने जाँगर पनि मरेको गुनासो गर्नुहुन्छ । गङ्गारामले विरक्तिँदै अगाडि भन्नुभयो, “अब हरेस खाएँ, आउँदो वर्षलाई मजदुर पाउने आस म¥यो ।” मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रको परम्परामा श्रीपञ्चमी पर्वका दिन कृषि कार्य गर्न अघिल्लो एक वर्षका लागि कृषि श्रमिकको टुङ्गो गरेर पुज्ने परम्परा भए पनि यसपालि गाउँ/नगर बस्तीमा कृषि श्रमिक नपाइएपछि यहाँका किसानमा चिन्ता बढेको हो ।रासस