पहिलो चरणको काम पूरा भएको तीन वर्ष पुग्नै लाग्दा पनि तुलसीपुर बसपार्क निर्माणको दोस्रो चरणको काम अघि बढ्न सकेको छैन । बजेट अभावका कारण निर्माणमा ढिलाइ भएको हो । रु ३४ करोडको लागतमा बसपार्क निर्माण गर्न गुरुयोजना तयार भएको थियो । तुलसीपुर उपमहानगरपालिकासँग पर्याप्त बजेट भएन । त्यसैले बिभिन्न चरणमा काम गर्ने गरी निर्माण थालिएको थियो । पहिलो चरणमा नगर विकास समितिबाट रु १० करोड ५० लाख ऋण लिएर बसपार्क निर्माण अघि बढाइएको थियो । नगर विकास कोषले २०७४ सालमा ९० प्रतिशत ऋण र १० प्रतिशत अनुदानमा बजेट उपलब्ध गराएको थियो । “पहिलो चरणमा एक तलाको टर्मिनल भवन, ५२ व्यापारिक सटर, सार्वजनिक शौचालय तथा सडक र सडकबत्ती निर्माण ग¥यौँ”, उपमहानगरपालिकाका इञ्जीनियर पवन योगीले भन्नुभयो । उक्त काम २०७६ सालमै सम्पन्न भएको थियो । “बजेट अभावले दोस्रो चरणको काम अघि बढ्न सकेको छैन”, उहाँले भन्नुभयो, “बाँकी काम रु २४ करोडमा नभ्याउने अवस्था छ। बजेट जुटाउनुपर्ने देखिन्छ ।रासस