स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले कोरोना भाइरसको सङ्क्रमण रोकथाममा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले पु¥याएको योगदान बिर्सन नसकिने बताउनुभएको छ । अस्पतालको ८९ औँ वार्षिकोत्सवमा आज उहाँले कोरोना सङ्क्रमणजस्तो महामारीको रोकथाम र नियन्त्रणमा अस्पतालले महत्वपूर्ण योगदान दिएको बताउँदै त्यस कठिन घडीमा स्वास्थ्यकर्मीले उच्च मनोबलका साथ काम गरेको स्मरण गर्नुभयो । उहाँले सङ्क्रमण रोकथाम र नियन्त्रणमा स्वास्थ्यकर्मीले पु¥याएको योगदानको प्रशंसा गर्नुभयो । मन्त्री गिरीले कोरोना भाइरस सङ्क्रमण रोक्नका लागि निर्वाह गरिएको भूमिकाका आधारमा जस्तोसुकै महामारीलाई पनि सामाना गर्नसक्ने क्षमता अस्पतालका स्वास्थ्यकर्मीले देखाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा कसरी पु¥याउन सकिन्छ भनेर सबैले सङ्कल्प गर्नुपर्ने समय आएको बताउनुभयो । “सबै नागरिकलाई कसरी गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन सकिन्छ भन्नेमा हाम्रो ध्यान जान जरुरी छ”, उहाँले भन्नुभयो, “सुदृढ स्वास्थ्य प्रणााली बनाउन सबै मिलेर काम गर्नुपर्छ ।” नेपालको स्वास्थ्य क्षेत्र भरपर्दो, अब्बल छ भनेर सावित गर्ने दायित्व हामी सबैको रहेको भन्दै मन्त्री गिरीले सबै रुपले स्वास्थ्य क्षेत्रलाई मर्यादित र जनतामुखी बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले अस्पताललाई कम्तीमा पाँच सय शय्याको बनाउनुपर्नेमा जोड दिनुभयो ।रासस