म्याग्दे गाउँपालिका कार्यालयले एक सय २२ व्यावसायिक फार्ममा अनुगमन गरेको छ । व्यावसायिक फार्म सञ्चालन गरेका कृषकलाई राहत दिन अनुगमन तथा निरीक्षण कार्यलाई तीव्रता दिइएको हो । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, अनुगमन समितिका संयोजक बालकृष्ण घिमिरे, सदस्यद्वय हिरा गुरुङ, अनु महत श्रेष्ठ र शाखाका प्रमुख श्रीकृष्ण पौडेलले दर्ता भइ सञ्चालन गरेका फार्र्म अनुगमन गर्नुभएको हो । कृषकलाई कृषि र उत्पादनमा अभिप्रेरित गर्न अनुदानको व्यवस्था गरेसँगै अनुदानका लागि पालिकाभित्रका व्यावसायिक फार्मसँग निवेदन माग गरिएको गाउँपालिकाले जनाएको छ । फार्म अनुगमनका क्रममा नवदुर्गा कृषि फार्मका सञ्चालक युवराज शाहीले व्यवासायका लागि बैङ्कबाट ऋण लिएर ठूलो लगानी गरे पनि बजारको उचित व्यवस्था नहुँदा उत्पादित दूधले बजार नपाएको गुनासो गर्नुभयो । वास्तविक किसान मर्कामा परे पनि अनुदान तथा राहत भने नक्कली कृषकले पाएकाले सक्कली कृषक पहिचान गरी अनुदान दिन उहाँकोे आग्रह थियो । गाउँपालिकाले अनुदानका लागि चालु आर्थिक वर्षमा बोका वितरण गर्नाका साथै माछाको भुरा खरिद, गोठ–खोर निर्माणका लागि रु चार लाख, रु तीन लाख ५० हजार, औजार च्याप कटरमा रु एक लाख र लोकल कुखुराका लागि रु एक लाख विनियोजन गरेको संयोजक घिमिरेले जानकारी दिनुभयो ।रासस