साढे सात वर्ष अघि गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले ढलेको धरहरा परिसरको संरचना बनेर धरहरा टावर चढ्न अझै एक वर्ष कुर्नुपर्ने भएको छ । सम्झौता भएलगत्तै काम गर्न चार रोपनी क्षेत्रफल मात्र पाएको र पछिमात्र ४२ रोपनी क्षेत्रफलको ‘साइड क्लियर’ भएकाले अझै एक वर्ष धरहरा परिसरका संरचना निर्माणका लागि लाग्ने निर्माण व्यवसायी पक्षको भनाइ छ । विसं २०७५ असोज १४ गते धरहरा क्षेत्रका संरचना निर्माणका लागि निर्माण व्यवसायीसँग तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्झौता गरेको थियो । चिनियाँ निर्माण कम्पनी जिआइटिसी/रमण जेभीले धरहरा क्षेत्रका संरचनाको निर्माण गरिरहेको छ । निर्माण कम्पनीको म्याद अहिलेसम्म चारपटक थपिएको छ । कोरोना महामारीका कारणले मात्र दुईपटक म्याद थपिएको थियो । चारपटक थपिएको म्याद पनि गत पुस मसान्तमा सकिएको छ । धरहरा क्षेत्रका सबै संरचना निर्माणका लागि कम्तीमा पनि अझै एक वर्ष लाग्ने निर्माण व्यवसायी तर्फका आयोजना व्यवस्थापक सञ्जय नकर्मी बताउनुहुन्छ । हालसम्म धरहरा क्षेत्रका संरचना निर्माणको ८२ प्रतिशत भौतिक प्रगति भएको छ । ६९ प्रतिशत वित्तीय प्रगति भएको पनि जनाइएको छ । टेन्डरमा नभएका काम पटकपटक थपिएको र टक्सार विभागको भवन भत्काउन सम्झौता भएको मितिले २२ महिना लागेकाले काम ढिलाइ भएको दाबी निर्माण व्यवसायी पक्षको छ ।रासस