राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको टोलीले सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको आज अवलोकन गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनका मुख्य सभा हलसहित १२ वटा भवन निर्माणको हालसम्मको भौतिक प्रगति ६१ प्रतिशत र वित्तीय प्रगति ५९ प्रतिशत रहेको छ । विसं २०७६ असोजमा तीन वर्षभित्र पूरा गर्ने लक्ष्यका साथ सुरु गरिएको उक्त निर्माण कार्य समयमा पूरा हुन नसक्नुलाई कोरोना प्रभावलाई मुख्य दोष देखाइएको छ । कुँदेका झ्याल र ढोका, झिँगटीको छानो रहने ती भवनमा सभाहल, पुस्तकालय, संसदीय समिति, राजनीतिक दलका संसदीय दलका कार्यालय रहनेछ । करिब रु पाँच अर्ब ६७ लाखको लागतमा निर्माणाधीन भवनमा विशिष्ट व्यक्ति, सांसद र अन्यका लागि बेग्लाबेग्लै तीनवटा प्रवेशद्वार हुनेछ । करिब एक सय २४ रोपनी क्षेत्रफल ओगटेको संसद् भवनको दायाँतर्फ राष्ट्रियसभा र बायाँतर्फ प्रतिनिधिसभा सञ्चालन हुनेछ । भवन निर्माणका लागि तोकिएको पहिलो समयसीमा सकिएपछि छ महिनाका लागि म्याद थपिएको छ । हालसम्मको प्रगति विश्लेषणले अझै कम्तीमा एक वर्ष अवधि लाग्ने निश्चित जस्तै देखिएको छ । भ्रमणका क्रमममा संसदीय टोलीले अर्काे हिउँदे अधिवेशन नयाँ भवनमा सञ्चालन हुने गरी निर्माणलाई तीव्रता प्रदान गर्न सहरी विकास मन्त्रालय र संलग्न ठेकेदार कम्पनीका पदाधिकारीलाई निर्देशन दियो ।रासस