मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा धार्मिक, सांस्कृतिक पर्वसँगै किसानका विभिन्न फसलको सम्बन्ध जोडिएको छ । श्रीपञ्चमी पर्व नजिकिएसँगै बयर (रूखमा फल्ने फलविशेष) र केशोर (माटोमुनि फल्ने फलविशेष) उत्पादन भएपछि किसान खुसी भएका छन् । अहिले यो पर्व नजिकिएसँगै महोत्तरीका हाटबजारमा केशोर र बयरको बजार बढेको छ । वसन्तपञ्चमी पनि भनिने यस पर्वमा सरस्वतीको पूजाका लागि बयर र केशोरको महत्व निकै हुन्छ । बस्ती÷बस्तीका विद्यालय र घरघरै पनि उल्लासमय वातावरणमा मनाइने सरस्वती पूजामा प्रसादका रूपमा बयर र केशोरको प्रयोग गरिने भएकाले यो बेला यी उत्पादनले राम्रो बजार पाउँछन् । पर्व नजिकिँदै गर्दा किसान केशोर खन्न र बजार पु¥याउन तल्लीन देखिन्छन् । “लगातार बाक्लो हुस्सुसँगैको चिसो स्याँठले राम्ररी काम गर्न कठिन भए पनि केशोर बिक्रीको बेला भएकाले धमाधम खन्न लागेका छाँै”, बर्दिबास–९ पशुपतिनगरका किसान रामविनोद महतोले भन्नुभयो, “अबका चार दिन केशोरले बजार पाउने त हो ।” यस वर्ष श्रीपञ्चमी पर्व माघ मध्यअघि नै पर्दा केशोर खन्न ठीक बेला भए पनि लगातारको चिसोले यसमा कालो धब्बा लागेर दुःख दिएको सम्बद्ध किसानले बताए । बर्दिबास, गौशाला, भङ्गाहा र औरहीसहितका जिल्लाका उत्तरवर्ती नगर क्षेत्रका बस्तीमा केशोरको व्यावसायिक खेती हुँदै आएको छ । यस भेगको केशोर देशका विभिन्न भागका साथै भारतको पश्चिम बङ्गालसम्म पुग्ने हुँदा अहिले केशोरका व्यापारीको चहलपहल पनि बढेको छ ।रासस