वृहत राष्ट्रिय खेलकुदमा सुदूरपश्चिम प्रदेशबाटै उत्कृष्ठ नतिजा हासिल गरिरहेका कुस्ती खेलका खेलाडी एक दशकभन्दा बढी समयदेखि साँघुरो हलमा प्रशिक्षणरत छन् । केही समयअघि सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई महिला कुस्तीतर्फ कञ्चनपुरका खेलाडीले पाँच स्वर्ण दिलाएका थिए । पाँच स्वर्णसहित नौ पदक जितेका यहाँका खेलाडीले विगत लामो समयदेखि जिल्ला खेलकुद विकास समितिको कार्यालयमा रहेको साँगृुरो हलमा प्रशिक्षण गर्नुपरेको गुनासो बढेको छ । पछिल्लो राष्ट्रिय तथा दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा समेत पदक विजेता यहाँका कुस्ती खेलाडीको प्रशिक्षणका लागि बनाउन सुरु गरिएको कुस्ती हल दुई वर्षदेखि अलपत्र छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले हरेक वर्ष उपलब्ध गराएको रु ६० लाखबाट दुई वर्षअघि जग हाल्ने काम जिल्ला खेलकुद समितिले गरे पनि अहिलेसम्म निर्माण अलपत्र छ । “अब यो वर्षको अन्तिमतिर रकम आए त्यो हल बनाएर खेलाडीको प्रशिक्षणका लागि सहज हुने थियो भन्ने आशामा छौँ ।” कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले भन्नुभयो–“खेलकुदको हल साघुँरो हुँदा जुनियर खेलाडीलाई सिनियरसित राखेर प्रशिक्षण गराउन सक्ने अवस्था छैन् ।” सुदूरपश्चिम प्रदेशका नौवटा जिल्लामध्ये कञ्चनपुरमा मात्रै कुस्तीको प्रशिक्षण हुन्छ । साग प्रतियोगितामा पहिलो पटक महिलातर्फ कुस्तीमा स्वर्ण जित्ने खेलाडी सङ्गीता धामी पनि कञ्चनपुरकै हुनुहुन्छ ।“आठ/दश खेलाडीभन्दा बढीलाई हलमा प्रशिक्षण गराउन सकिँदैन ।” उहाँले भन्नुभयो,“अझ गर्मी याममा त हलमा खेलाडीलाई प्रशिक्षण गराउनै हम्मेहम्मे हुन्छ ।”रासस
