नेपालले गर्व गर्न लायक व्यक्तित्व हुनुहुन्छ डा सन्दुक रुइत । मोतिबिन्दुका कारण नेत्रज्योति गुमाउँदा अन्धकारमय जीवन बिताउन विवश लाखौँ नेपालीको आँखा देखाइदिनुभएका उहाँले विश्वका अन्य मुलुकहरुमा पनि गएर सेवा गर्नुभएको छ । विश्व समुदायमा नेपालको नाम चिनाउन त्यो पनि चिकित्सा प्रविधिमा उहाँले पु¥याउनु भएको योगदानलाई सबैले उच्च प्रशंसा गर्नैपर्छ । मोतिबिन्दु उपचार गर्ने सरल विधि (इन्ट्राअकुलर लेन्स) हो विकास गरेर अन्धोपन हटाउन खेलेको भूमिकाको योगदान गर्दै हालै उहाँलाई अन्तरराष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले सन् २००९ मा पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरेको ‘इसा अवार्ड फर सर्भिस टू ह्युमानिटी’ संस्थाले उहाँलाई ‘इशा अबार्ड’बाट सम्मानित गरेको छ । पुरस्कारको राशि १० लाख अमेरिकी डलर रहेको छ । आफू पुरस्कृत भएको खबर पाउँदा उहाँ बिरामीको उपचारमा व्यस्त रहनुभएको थियो । सुरुमा उहाँको मोबाइलमा एसएमएस आएको थियो । त्यसपछि पुरस्कारबारे फोनबाट जानकारी भएको थियो । उहाँले अवार्डले प्राप्तले आफू ३५ वर्ष काम गरेको प्रतिफल पाएको बताउनुभयो । पुरस्कारले नेपालीलाई संसारको मानचित्रमा नेपालले राम्रो काम गर्दा रहेछ भन्ने देखाएको उहाँको भनाइ रहेको छ । आफ्नो क्षेत्रबाट नेपालीको आत्मसम्मान, प्रतिष्ठालाई बढाउन पाएकामा उहाँ आफ्नो जीवनलाई सार्थक ठान्नुहुन्छ ।

उहाँले सुरुमा पुरस्कार पाउने खबर सुन्दा आफूलाई विश्वास नलागेको बताउनुभयो । उक्त अवार्डका लागि एक सय ४५ व्यक्ति तथा संस्थाले मनोनयनमा दर्ता गराएका थिए । पुरस्कारका लागि उहाँले कुनै पनि मनोनयन दर्ता गराउनु भएको थिएन । जुरी कमिटी (निर्णायक)ले नै उहाँले आँखा उपचारमा पु¥याएको योगदानलाई महत्व दिँदै छनोट चरणमा छवटा व्यक्ति तथा संस्था अन्तिम सूचीमा राखेपछि मात्रै जानकारी गराइएको थियो । प्रस्तुत छ उहाँसँग राससका समाचारदाता शरद् शर्माले गरेको कुराकानीको अंश:-

  • तपाइँले हालै अन्तरराष्ट्रियस्तरको पुरस्कार पाउनुभएको छ, ठूलो राशिको पुरस्कार पाउँदा कस्तो महसुस गर्नुभएको छ ? – मलाई यो अवार्ड पहिलो चोटि पाएको खबर सुन्दा विश्वास पनि लागेन । पुरस्कारका लागि मैले नाम दर्ता पनि गरेको थिइनँ । पछि निर्णायक टोलीले नै नाम राखेछ । नेपालमा बसेर काम गरिरहेको मान्छेले यत्रो ठूलो अन्तरराष्ट्रिय पुरस्कार पाउनु मुरा लागिभन्दा पनि देशकै गौरवको कुरा हो । पुरस्कारले मेरो जीवनभरिको लामो तपस्याको (३५ वर्ष) गरेको कामको संसारमा कुनै संस्थाले सम्झेकामा गौरवको अनुभव भएको छ ।

पुरस्कारको प्राप्तिको श्रेय कसलाई दिनुहुन्छ ? –तिलगङ्गा आँखा अस्पतालका मेरा सहपाठीलाई यसको पहिलो श्रेय दिन्छु । त्यसपछि मेरो परिवार र यतिका वर्षदेखि मलाई विश्वास गरेका बिरामीहरुलाई श्रेय दिन चाहन्छु । केही मात्रामा मेरा अन्तरराष्ट्रिय साथीहरुलाई यसको श्रेय जान्छ । आफ्नो कुन कामका लागि यो पुरस्कार दिइएको हो भन्ने लाग्दछ ? –मलाई के लाग्छ भने अन्धोपन निवारणमा मैले खेलेको भूमिकाको कारणले पुरस्कार प्रदान गरिएको हो । नेपालजस्तो ठाउँबाट सङ्घर्ष गरेर आँखाको इन्ट्राअकुलर लेन्सको प्रणालीको विकास गरेबापत प्रदान गरिएको हो । अन्धोपन निवारण गर्न नेपालबाहिर अरू देशमा पनि हामीले सीपको विकास गरेका छौँ । यो पुरस्कार अन्तरराष्ट्रिय योगदान नगरीकन दिइँदैन । पुरस्कारमा नै अन्तरराष्ट्रिय रुपमा प्रभाव पारेको हुनुपर्दछ भन्ने लेखिएको थियो । पछाडि परेका समुदायमा पनि पहुँच, सर्वसुलभ तरिकाले पुगोस् भन्ने हिसाबले पनि हेर्ने गरिन्छ । यी विभिन्न मापदण्डहरु पूरा भएका कारण नै मलाई पुरस्कृत गरिएको हो ।रासस