डिएस एग्रो इन्डष्ट्रिजले धनकुटा कफी बजारमा ल्याएको छ । धनकुटामा जारी प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं एभोकाडो धनकुटा महोत्सवमा सो इन्डस्ट्रिजले आफ्नो उत्पादन सार्वजनिक गरेको छ । यो उत्पादन जिल्लाकै पहिलो ‘प्याकेजिङ’ प्रशोधित कफी हो । विसं २०७२ बाट धनकुटा नगरपालिका–२ गणेशटार भिरगाउँमा कफीखेती सुरु गरेको यस एग्रो इन्डस्ट्रिजले आफ्नो उत्पादनलाई बजारमा ल्याएको हो । रु एक करोड ५० लाखको लागतमा एक सय २० रोपनीमा कफीखेती सुरु गरेको इन्डस्ट्रिजले यो हप्ताबाट क्याकेजिङ कफीको सुरुआत गरिएको सञ्चालक टीकाराम दर्नालले जानकारी दिनुभयो । दुई सय ५० ग्रामको बजार मूल्य रु छ सय ५० पर्ने अरबिका जातको आग्र्यानिक कफी बजारमा ल्याइएको उहाँले जानकारी दिनुभयो । महोत्सवमा राखिएको यो कफी सबैले मन पराएर खाएको सञ्चालक दर्नालले सुनाउनुभयो । लगानी अभावका कारण हाललाई रु दुई लाख ५० हजारको लगानीमा दुई सय केजीबाट परीक्षण उत्पादन सुरु गरिएको अर्का सञ्चालक युवराज दर्नालले जानकारी दिनुभयो ।रासस