नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा विद्युत् सबस्टेशन निर्माण सुरु भएको छ । गाउँपालिकाभित्र विद्युतीकरणका लागि पालिकाको वडा नं २ दुम्कीबासमा नयाँ विद्युत् सबस्टेशन निर्माणको काम थालिएको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो । विद्युत् सबस्टेशन निर्माणका लागि निर्माण कम्पनीका प्रतिनिधि अहिले निर्माणस्थलमा आइपुगेका छन् । दुम्कीबासमा निर्माण सुरु गर्न लागिएको विद्युत् सबस्टेशनका लागि छुट्याइएको जग्गाको चार किल्ला पहिचानका लागि प्राविधिकले काम सुरु गरेको उहाँले बताउनुभयो । विद्युत् सबस्टेशनका लागि चार बिघा जग्गा विद्युत् प्राधिकरणको नाममा ल्याएर साइट क्लियरको काम सकिएपछि थप काम अघि बढ्न लागेको अध्यक्ष गिरीले बताउनुभयो । “निर्माण कम्पनीका प्रतिनिधि फिल्डमा आउनुभएको छ, जग्गाको थप प्रमाणीकरणको काम हुँदै छ, अब लगत्तै निर्माणको काम अघि बढ्छ”, गाउँपालिका अध्यक्ष गिरीले भन्नुभयो । एक सय ३२ केभी प्रसारण लाइनमा डबल सर्किटको सबस्टेशन निर्माणको काम सुरु भएको हो । एसियाली विकास बैंकको सात मिलियन अमेरिकी डलर सहयोगमा निर्माण गर्न लागिएको यस आयोजना अबको २२ महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको छ । विनयी त्रिवेणीको दुम्कीबास क्षेत्रसहित वरपर हाल नवलपरासी पश्चिम बर्दघाटस्थित सबस्टेशनबाट विद्युतीकरण गरिएको छ । टाढाबाट ल्याइएको प्रसारण लाइनका कारण ठूलो समस्या झेल्नुपरेको अध्यक्ष गिरीले बताउनुभयो । लो भोल्टेससहित बर्खाको समयमा दाउन्ने क्षेत्रमा विद्युत् पोलमा क्षति हुँदा अन्धकारमा बस्नुपर्ने बाध्यता रहेकामा दुम्कीबासमा सबस्टेशन निर्माणपछि ती समस्या समाधान हुने उहाँले बताउनुभयो । “अहिले धेरै समस्या झेल्नुपरेको छ, तारमात्रै टाँगिएको छ, लो भोल्टजको समस्या उस्तै छ, दाउन्ने क्षेत्रमा बर्खामा विद्युत् पोलमा क्षति हुँदा कति समय अन्धकारमा बस्नुपर्ने स्थिति छ, अब चाँडै ती समस्या समाधान हुनेछ”, अध्यक्ष गिरीले भन्नुभयो ।रासस