गुल्मीको रेसुङ्गा नगरपालिका–२ का कुँवर दम्पतीले शैलुन व्यवसायबाटै मनग्ये आम्दानी गर्दै आउनुभएको छ । इन्द्रबहादुर र मोनिका कुँवरले जिल्लाको सदरमुकाम तम्घासको क्याम्पसरोडमा एउटै छानामुनी मोनिका हेयर कटिङ एण्ड जेन्स पार्लर र मोनिका ब्युटिपार्लर सञ्चालन गर्नुभएको छ । आजभन्दा आठ वर्ष अगाडिबाट औपचारिकरुपमा दर्ता गरेर कुँवर दम्पतीले आ–आफ्नो सीप र दक्षता अनुसारको शैलुन व्यवसाय सुरु गर्नुभएको हो । भारतमा कमाएर ल्याएको रु ३५ हजार लगानीमा व्यवासय सुरु गरेको इन्द्रबहादुरले बताउनुभयो । रोजगारीको सिलसिलामा भारत जानुभएका कुँवर लामो समयसम्म भारतमै काम गर्नुभयो । जागिर गरेर मात्र सन्तुष्ट नभएपछि कुँवरले भारतमै शैलुनसम्बन्धीका विभिन्न तालिम लिनुभयो । त्यसपछि आफूले कमाएको थोरै रकमले भए पनि आफँै व्यवसाय सुरु गर्ने भन्दै जन्मथलोमा फर्कनुभयो । यसमा इन्द्रबहादुर मात्र होइन श्रीमती मोनिका पनि निरन्तरको सारथी बन्नुभयो । दुवैको सहमतिमा शैलुन व्यवसाय खोल्नुभयो । उमरेले ४७ वर्ष पुग्नुभएका इन्द्रबहादुर आफूले सञ्चालन गरेको शैलुन व्यवसायबाट निकै सन्तुष्ट हुनुहुन्छ । सुरुमा सानोबाट लगानी गरेर अहिले उहाँले व्यवसायलाई बढाउँदै लैजानुका साथै आम्दानीलाई विभिन्न ठाउँमा लगानी गर्नुभएको छ । आर्थिक अभावका कारण अध्ययनमा केही समस्या भएका कारण भारत छिर्नुभएका इन्द्रबहादुरले अहिले आफ्नो सीपका कारण कुनै पछुतो मान्नुपरेको छैन् । “पढाइ, पैसा र कुनै सीप नहुँदा मलाई धेरै चिन्ता लाग्ने गर्दथ्यो” कपाल काट्दै इन्द्रबहादुरले भन्नुभयो, “भारतमा सिकेको सीपले आत्मनिर्भर मात्र नभई स्वाभिमानी समेत बनायो ।” उहाँले कुनै न कुनै सीप हरेक व्यक्तिमा हुनुपर्ने र जसका कारण सजिलै आत्मनिर्भर बन्न सकिने बताउनुभयो ।रासस