ओटिटी (ओभर द टप) प्रतिको आकर्षण कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रुपमा ‘डिजिटल प्लेटफर्म’ रोजे । अन्तर्राष्ट्रियरुपमा बजारमा स्थापित नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्ने प्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायत ‘ओटिटी प्लेटफर्म’ दर्शकका प्रिय बनिरहँदा नेपाली एप भने ओझेलमा रहे । नेपालमा समेत विदेशी ओटिटीका प्लेटफर्मतर्फ बढ्दा नेपालमै रहेका आइफ्लिक्स, भिडियो पसल, सिनेमाघर जस्ता एपले भने धेरै दर्शक तान्न सकेनन् । नेपाल राष्ट्र बैंकले पाँच सय डलरसम्म वार्षिकरुपमा खर्च गर्न मिल्नेगरी कार्ड उपलब्ध गराए पनि विदेशी एपमै दर्शक बढ्दै आएका छन् । आइफ्लिक्स र चलचित्र टिभीले सफलता नपाए पछि बन्द नै भए । नेपालमा सन् २०१६ देखि सुरू भएको एप सिनेमाघरले सब्स्क्रिप्सनको सुविधा हटाएर फिल्मअनुसार भुक्तानी गरेर हेर्न मिल्ने बनाएको यसका अध्यक्ष खगेन्द्र लामिछानेले जानकारी दिनुभयो । अभिनेता, निर्माता, लेखकसँगै पछिल्लो फिल्म ‘पानीफोटो’ मार्फत निर्देशक बन्नुभएका लामिछानेले सिनेमाघर एपसँग सन् २०१८ मा जोडिनुभएको थियो । । “हामीले नयाँ फिल्म ल्याउदा दर्शक बढछन् । फिल्मले पनि राम्रो आमदानी गरिरहेका छन्”, अध्यक्ष लामिछानेले भन्नुभयो, “हामीले आफ्नै कन्टेन्ट ल्याउने तयारी गरिरहेका छौँ । यद्यपि त्यसको लाइनअप पूरा नहुँदासम्म आँट गरेका छैनौँ ।” उहाँका अनुसार वार्षिक क्यालेन्डर बनाएर मात्र आफ्नै ‘कन्टेन्ट’ ल्याइने छ । यसरी तयारी गर्दा कुनै एक ‘कन्टेन्ट’ असफल हुँदा अन्यले दर्शकलाई ‘होल्ड’ गर्ने उहाँको बुझाइ छ ।रासस