कैलालीको टीकापुरमा सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव सञ्चालन भइरहेको छ । आन्तरिक आयस्रोत वृद्धिका लागि भन्दै टीकापुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सवमा कला संस्कृतिसँगै विभिन्न स्थानीय उत्पादनको प्रदर्शनसमेत छ । स्थानीय कृषि उत्पादनदेखि बेत बासबाट बनेका विभिन्न सामग्रीका साथै कृषि औजारकोसमेत प्रदर्शन राम्रो छ । नगरपालिकाकै वडा नं ७ स्थित सत्ती कर्णाली सामुदायिक वन बेत बासका लागि चर्चित छ । त्यहीँबाट सङ्कलन भएको बेत बासबाट विभिन्न सामग्री बनाएर महोत्सवमा बिक्रीका लागि राखिएको छ । बेत बासको सामानले राम्रो मूल्य पाएको व्यापार गर्दै आउनुभएका सुरेश विश्वकर्मा बताउनुहुन्छ । पूजा सामान राख्ने टोकरीदेखि बस्नको लागि आवश्यक सामानको प्रदर्शन उहाँले गर्दै आउनुभएको छ । सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गतको कृषि विज्ञान सङ्काय टीकापुर बहुमुखी क्याम्पसमा अध्यनरत रविना सुवेदी महोत्सवको प्रदर्शनीमा राखिएका उपकरणको जानकारी दिन व्यस्त हुनुहुन्थ्यो । महोत्सव अवलोकन गर्न आएका बृहत् कृषि प्रदर्शनीमा पुगेपछि कृषिमा आधुनिकीकरण र व्यावसायीकरण कसरी गर्न सकिन्छ भन्ने कुराको जानकारी दिने गरेको उहाँले बताउनुभयो । “हामीले सिकेको कुरालाई अवलोकनका लागि आएकालाई भन्ने गरेका छौँ । उत्पादन बढाउन अपनाउनुपर्ने सावधानीको बारेमा बुझाउँछौँ”, रविना भन्नुहुन्छ, “कृषिलाई व्यावसायीकरण र आधुनिकीकरणका लागि आवश्यक उपकरण त्यहीँ प्रदर्शनीमा राखिएको हुँदा त्यसलाई देखाएर बुझाउन सजिलो भएको छ ।”रासस