मानव सेवा आश्रमले आफ्नो नामअनुसार बेसहाराका लागि सहारा दिँदै आएको छ । आश्रमले ‘मानवीयताको कुनै सीमा हुँदैन’ भन्ने नाराका साथ सर्वोत्कृष्ट जीवन, शाश्वत चिन्तन र भातृत्वको आधारमा काम गरिरहेको छ । बागमती प्रदेशको राजधानी हेटौँडामा विसं २०६९ भदौ १३ गतेबाट स्थापित मानव सेवा आश्रमले सातै प्रदेशमा सेवा विस्तार गरेको छ । अहिले देशभरका १९ जिल्लाको २३ सेवा केन्द्रबाट सहयोगापेक्षीहरुको उद्धार गरी पालनपोषण गरिदै आएको छ । विसं २०७४ चैत १७ गतेदेखि गण्डकी प्रदेशको राजधानी पोखरामा मानवसेवाले सेवा विस्तार गरेको हो । यहाँ छोरेपाटन र हेम्जामा सेवा केन्द्र स्थापना गरी सेवा दिन थालेको मानव सेवा आश्रमका कोषाध्यक्ष तथा गण्डकी संयोजक होमनाथ तिमिल्सिनाले जानकारी दिनुभयो । “हामीले दुई सेवा केन्द्रमा अहिले एक सय ६३ जनालाई सेवा दिइरहेका छौँ”, उहाँले भन्नुभयो । पोखरामा सेवा विस्तारका लागि नौ करोड लागतमा आफ्नै सुविधा सम्पन्न भवन बनाउँदै गरेको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । आश्रमले पोखरा २५ हेम्जा बबियातरामा लक्ष्मीनारायण सनातन संस्कार प्रतिष्ठानले उपलब्ध गराएको ६३ रोपनी जग्गामा दुई सय ५० जना अट्ने भवन बनाउँदैछ । “प्रदेशभरका सहयोगापेक्षी मानवहरुलाई एकै ठाँउमा राख्नेगरी बबियातरामा भवन बनाउन लागिएको हो,” उहाँले भन्नुभयो ।रासस