धार्मिक ऐतिहासिक कला संस्कृतिको संवद्र्धन, दीगो आर्थिक विकासको लागि व्यावसायिक प्रवद्र्धन’ भन्ने नारासहित नुवाकोट उद्योग वाणिज्य सङ्घ सातौँ महोत्सवको तयारीमा जुटेको छ । यही माघ २७ देखि फागुन १०गतेसम्म महोत्सव सञ्चालन हुने भएकाले आवश्यक पूर्वतयारीमा नुवाकोट उद्योग वाणिज्य सङ्घ जुटेको हो । जिल्लामा आर्थिक रुपले लगानीमैत्री वातावरण सिर्जना गरी बाह्य लगानीलाई आकर्षण गराउने उद्देश्यले महोत्सव गर्न लागिएको सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले बताउनुभयो । विदुर नगरपालिका–५ स्थित पिपलटारमा हुने महोत्सव अघिल्लोभन्दा पृथक रहने अध्यक्ष कार्कीले बताउनुभयो । महोत्सव तयारीको लागि मूल समारोहको संयोजकसहित विभिन्न ३० उपसमितिको संयोजक चयन गरिएको हो । जिल्ला समन्वय समिति नुवाकोट र जिल्लाको १२ वटै स्थानीय तह सहआयोजनामा हुने महोत्सवको प्रवद्र्धकमा नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल पर्यटन बोर्ड रहेको प्रचारप्रसार तथा मञ्च व्यवस्थापन उपसिमितिका संयोजक एवं सङ्घका प्रवक्ता सविन राजभण्डारीले जानकारी दिनुभयो । महोत्सवलाई मनोरञ्जनात्मक, व्यवस्थित र बाल उद्यान तथा स्टल निर्माणको लागि नारायणी फेयर एक्जिवेशन नेपाल प्रालिसँग सम्झौता भइसकेको प्रवक्ता राजभण्डारीले जानकारी दिनुभएको हो । महोत्सवमा तीन सय स्टल रहनेछ । महोत्सवमा ज्येष्ठ नागरिक, आपाङ्गता भएका व्यक्ति र असहायलाई पूर्ण छुटको व्यवस्था रहेको प्रवक्ता सविन राजभण्डारीले भन्नुभयो । महोत्सवमा रु २० करोड बराबरको कारोबार हुने लक्ष्य राखिएको छ । करिब सात लाख दर्शकले महोत्सवको अवलोकन गर्ने र करिब रु २० लाख मुनाफा हुने अपेक्षा गरिएको सङ्घका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।रासस