धार्मिक रुपमा पवित्रस्थल मानिएको कैलालीको गोदावरी धाम धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ । गोदावरी धाममा गत पुस ३० गते बाह्रराशि दर्शन मकरमेलाको शुभारम्भ गरिएको थियो । हरेक वर्ष झै यस वर्ष पनि उक्त मेलाको शुभारम्भ गरिएको हो । हालसम्म लाखौँ दर्शनार्थीहरु गोदावरी धाममा विभिन्न क्रियाकलापका लागि आएको गोदावरी धाम विकास समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार बाह्रराशि दर्शन मकरमेलाको पहिलो दिन विभिन्न स्थानबाट आएका भक्तजनको धाममा निकै घुइँचो लागेको थियो । हिजोआज पनि दिनहुँ हजारौँ बढी भक्तजन आउने गरेका छन् । धाममा विभिन्न धार्मिक गतिविधि भइराख्ने भएकाले नेपालका मात्रै नभई छिमेकी राष्ट्र भारतका विभिन्न स्थानबाट समेत भक्तालु तथा दर्शनार्थी आउने गरेका छन् । भारतको राजस्थान, पञ्जाब, दिल्ली, लखनऊ, उत्तराखण्ड, बरेली, हरियाणालगायत स्थानबाट दर्शनार्थी आउने गरेको समितिका अध्यक्ष जोशीको भनाइ छ ।रासस