धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)ले नवलपरासीको गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना सञ्चालनको जिम्मा दिन सरकारसँग प्रस्ताव गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज मागपत्र बुझाउँदै नेकपा (बहुमत)का संयोजक बास्तोलाले उक्त कागज कारखाना सञ्चालनका लागि आवश्यक जनशक्ति आफ्नो पार्टीबाट उपलब्ध गराउने प्रस्ताव गर्नुभयो । “कारखानाको सम्पत्ति अहिले अलपत्र परेको छ । नेपालका युवालाई परिचालित गरेर त्यो कारखाना हामी चलाउन चाहन्छौँ । त्यतिबेला भएका मेसिन सरकारले उपलब्ध गराउनुपर्छ”, उहाँले भन्नुभयो । सो कारखाना नाफा नहुञ्जेल आफूहरुले चलाउने र सक्षम भएपछि पूर्णरुपमा सरकारलाई हस्तान्तरण गर्न तयार रहेको उहाँको भनाइ छ । कुनै समय अत्यन्त सफल मानिएको सो उद्योगको जग्गा र सम्पत्ति अहिले अलपत्र अवस्था छ । सरकारले सो कारखाना निजी क्षेत्रलाई सञ्चालन गर्ने जिम्मा दिएको भए पनि अझै सञ्चालनमा आउन सकेको छैन । संयोजक बास्तोलाले सरकार र जनताको सहभागितामा बन्द भएका उद्योगधन्दा सञ्चालन गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । भृकुटी कागज कारखानासँगै ललितपुरको हरिसिद्धी इँटा टायल कारखाना, बाँसबारी छाला जुत्तालगायत कारखाना निजी क्षेत्रबाट सञ्चालन गर्ने गरी बिक्री भए पनि ती अझै सञ्चालनमा आउन सकेका छैनन् । उहाँले लामो समयदेखि बन्द रहेका कारखाना सञ्चालन गर्न पनि माग गर्नुभयो ।रासस