नेपालका दुई स्रष्टा रञ्जना निरौला र सुमित शर्मा (समीर)लाई भारतको कलिङ्ग लिटरेरी फेस्टिभल (केएलएफ) बुक अवार्ड २०२२ बाट सम्मान गरिने भएको छ । पुरस्कार भारतमा आगामी फेब्रुअरी २४ देखि २६ सम्म आयोजना हुने केएलएफ वार्षिक कार्यक्रमको अवसरमा प्रदान गरिनेछ । बहुमुखी प्रतिभा सम्पन्न साहित्यकार रन्जनाद्वारा रचित निबन्ध सङ्ग्रह ‘अनुभूतिको अवतरण’ नेपाली भाषा शीर्षक अन्तर्गत सो पुरस्कारको निम्ति छनोट भएको हो भने युवा लेखक सुमित शर्माद्वारा रचित ‘वेक अप अर्ली वेक अप नाउ’ शीर्षकको कथा सङ्ग्रह मौलिक कृतिअन्तर्गत पुरस्कारको निम्ति छनोट भएको हो । कलिङग लिटरेरी फेस्टिभल भारतले ‘केएलफ बुक अवार्ड २०२२’ को लागि विभिन्न श्रेणीमा अवार्ड घोषणा गरेको छ । पुरस्कृत पुस्तक हिन्दी भाषामा प्रकाशित साहित्यिक पुस्तक, अनुवाद पुस्तक, व्यापार पुस्तक, पर्यावरण पुस्तक, जीवनी र आत्मकथा, बाल पुस्तक, खेलकुद पुस्तक, लाइफस्टाइल र इमर्जिङ ट्रेन्डलगायत वर्गमा प्रकाशित प्रकाशकद्वारा पेश गरिएका पुस्तकबाट चयन गरिएको हो । सञ्जीव सान्यालको पुस्तक ‘रिभोल्युशनरीजस द अदर स्टोरी अफ हाउ इन्डिया वोन इट्स फ्रिडम’, कैलाश सत्यार्थीको पुस्तक ‘तुमपहिले क्यु नआये’, हिन्दोल सेन गुप्ताको ‘गायन, नृत्य र प्रार्थना’, श्रीला प्रबहुपाडा संस्थापक आचार्यको ‘प्रेरणादायक कथा’, रञ्जित होस्कोटेको ‘हंचप्रोज’, प्रवीण कुमारको ‘अमर देशवा’लगायत किताब अवार्डमा छनोट भएको कलिङ्ग लिटरेरी फेस्टिबलका संस्थापक तथा निर्देशक रश्मी रञ्जनले एक प्रेस वक्तव्यमार्फत् जानकारी दिनुभएको छ । सो पुरस्कारका विजेताको छनोट एक स्वतन्त्र निर्णायक मण्डलको निर्णयमा आधारित भएको बताइएको छ ।रासस