गण्डकीका पूर्वप्रदेशसभा सदस्य कृष्ण थापा अहिले सुन्तला खेतीमा व्यस्त हुनुहुन्छ । राजनीतिमा लाग्दै गर्दा केही समय छुट्याएर स्वरोजगारमूलक कृषि कर्म गर्नुपर्दछ भन्ने मान्यता राख्दै आउनुभएका उहाँले अहिले पूरै समय कृषिमा लगाउनुभएको छ । बागलुङको राजनीतिमा राष्ट्रिय जनमोर्चाको छुट्टै पहिचान बनाउन सङ्घर्ष गर्नुभएका उहाँ अहिले राजनीतबाट अलग जस्तै बनेर सुन्तलाका बोट स्याहार्दै आउनुभएको छ । जैमिनी नगरपालिका–४ सर्कुवाका थापाले २०६२÷६३ सालमा जनमोर्चा बागलुङको नेतृत्व गर्नुभएको थियो । त्यसताका बागलुङमा राष्ट्रिय जनमोर्चाको ठूलो प्रभावसमेत थियो । समय बदलिएसँगै उहाँका केही सहयात्री पार्टी परित्यागमा लागे, केही राष्ट्रिय जनमोर्चामा छन् तर उहाँ अहिले कुनै दलमा हुनुहुन्न । उहाँ अहिले आफ्नो जन्मगाउँ फर्केर सुन्तला खेतीमा लाग्नुभएको छ । विसं २०७४ मा वाम गठबन्धनका तर्फबाट प्रदेशसभा सदस्यमा बागलुङ क्षेत्र नं २(२) बाट प्रत्यक्ष निर्वाचन जित्नुभएका थापाले आफ्नो पाँचवर्षे कार्यकालसमेत पूरा गर्न पाउनु भएन । पृथ्वी सुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकार फेरबलदको समयमा उहाँलाई आफ्नै पार्टी राष्ट्रिय जनमोर्चाले कारबाही गरेर तीन वर्षमै पदबाट हटाएपछि उहाँ गाउँ फर्किनुभएको हो ।रासस