काठमाडौँ महानगरपालिकाले यही माघ १५ देखि प्रत्येक वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरेको छ । निश्चित स्थानमा मात्र परिचयपत्र वितरणको व्यवस्था हुँदा समयमा नै प्राप्त गर्न नसकेको गुनासो नागरिकबाट आएपछि कामपाले वडा कार्यालयबाट वितरणको तयारी थालेको जनाएको छ । कामपाका प्रवक्ता नवीन मानन्धरका अनुसार वडा कार्यालयबाट परिचयपत्र उपलब्ध गराउनका लागि सम्बध भएका निकायसँग छलफल भइरहेको छ । उहाँले भन्नुभयो, “कामपाको ३२ वटै वडाबाट उक्त सुविधा उपलब्ध गराउनका लागि कामपाले राष्ट्रिय पञ्जीकरण विभागसँग छलफल भइरहेको छ । ” छलफल सकारात्मक रहेकाले आगामी माघ १५ देखि वडा कार्यालयबाटै नागरिकले राष्ट्रिय परिचय प्राप्त गर्ने विश्वास कामपाले लिएको छ । यसअघि सिंहदरबारमा रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट परिचयपत्र तयार गरी प्रत्येक जिल्लामा जिल्ला प्रशासन कार्यालयहरूबाट वा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले तोकेको स्थानबाट मात्रै वितरण गरिँदै आएको थियो ।रासस
