भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवा लिन स्थानीयले पाएको सास्तीलाई ध्यानमा राख्दै यहाँका दुर्गम चार स्थानमा अस्थायी सामुदायिक स्वास्थ्यचौकी स्थापना गरिएका छन् । दुर्गम तथा भौगोलिकरुपमा ठूलो रहेको यो गाउँपालिकाका स्थानीयले स्वास्थ्य सेवा लिन तीनदेखि पाँच घण्टाको दूरीमा जानुपर्ने अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले अस्थायी सामुदायिक स्वास्थ्यचौकी स्थापना गरेर सेवा प्रवाहको पहल थालेको हो । दुर्गम भेगमा रहेका स्थानीय सामान्य औषधि उपचार नपाएर अकालमा ज्यान गुमाउनु अवस्था रहेको छ । यहाँको टेम्केमैयुङ गाउँपालिका–५ चोलन्ती मझौले, वडा नं २ छिनामखुको रुमला र वादुङ्लामा अस्थायी सामुदायिक स्वास्थ्य चौकी स्थापना गरिएको हो । त्यस्तै वडा नं १ तिम्मा खम्बुखामा पनि स्वास्थ्यचौकी स्थापना गरिएको छ । प्रत्येक स्वास्थ्यचौकीमा एक अनमी र एक अहेव रहने गरी जनशक्ति व्यवस्थापन गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले जानकारी दिनुभयो । केही जनशक्तिको आवेदन माग गरेर छनोट पक्रिया सम्पन्न भएको र अरु थप जनशक्ति भने गाउँपालिकामा पहिला रहेका स्वास्थ्यकर्मीलाई परिचलान गरिने उहाँको भनाइ छ ।रासस
