तनहुँको आँबुखैरेनी गाउँपालिकाले आँखाको सम्पूर्ण उपचार गर्ने भएको छ । पालिकावासीलाई सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यले आँखासम्बन्धी सम्पूर्ण उपचार गर्न लागिएको हो । आँबुखैरेनी लायन्स क्लबको सहकार्यमा उक्त नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पताल र गाउँपालिकाबीच संयुक्तरुपमा आँबुखैरेनी अस्पतालमै आँखा उपचार केन्द्र सञ्चालन गर्ने सहमति गरिएको थियो । पालिकाका अध्यक्ष शुक्र चुमानले उक्त सेवाका लागि उक्त सङ्घ र भरतपुर आँखा अस्पतालसँग द्विपक्षीय सम्झौता गरिएको जानकारी दिनुभयो । “आँखाको उपचारका लागि आँबुखैरेनीका वासिन्दाका मात्र नभई छिमेकी गोरखा, बन्दीपुरका वासिन्दा पनि भरतपुरसम्म जानुपर्ने बाध्यता रहेकामा आँबुखैरेनीमै उक्त केन्द्र स्थापनापछि सबैलाई सहज हुन्छ”, उहाँले भन्नुभयो । उक्त अस्पतालमा गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत चिकित्सकको दरबन्दी मिलाइएको छ । प्रदेश सरकारले अस्पतालका लागि मेडिकल अधिकृत डा हरि सेढार्इंलाई नियुक्त दिएर पठाएको छ । पालिकाका अध्यक्ष चुमानले लामो समयदेखिको दरबन्दीको मागलाई प्रदेश सरकारले सम्बोधन गरिदिएको बताउनुभयो । “अस्पतालमा सरकारी दरबन्दीको चिकित्सकको माग गरेका थियौँ, हाम्रो मागलाई प्रदेश सरकारले सुनेको छ”, उहाँले भन्नुभयो ।रासस