चौबीसे गाउँपालिका धनकुटाको राजारानीमा रहेको रानीताल यस क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य हो । गाउँपालिकाको वडा नं ६ स्थित राजारानी बजारको पूर्वमा निजी स्वामित्वमा रहेको करिब एक सय ५० रोपनी क्षेत्रफलको यो ताल धेरै वर्ष अघिदेखि संरक्षित छ । तर समय बित्दै जाँदा त्यसैको विपरीत उत्तिकै क्षेत्रफलमा रहेको राजातालको जमिन महँगिएपछि स्थानीयले जमिन नदिँदा सो क्षेत्रको संरक्षण र प्रवद्र्धन हुनसकेको छैन । यही राजारानी तालको नामबाट सो क्षेत्रको तत्कालीन राजारानी गाविस र हालको राजारानी बजारको नामकरण पनि रहिआएको छ । समय क्रमसँगै राजारानीमा भएको रानीतालको संरक्षण भए पनि त्यही रानीतालसँग जोडिएको अर्को राजाताल क्षेत्र र सो ठाउँको सिमाली बोटको संरक्षण हुनसकेको छैन । राजाताल क्षेत्र संरक्षण हुन नसक्दा दलदलको अवस्थामा रहेको छ । जाडोमा तुषारो पर्ने निकै चिसो लेकाली क्षेत्रमा रहेको यो राजातालको एक किनारको बीच दलदलमा औवल (गर्मी) ठाउँमा मात्र पाइने एउटा निकै ठूलो सिमाली जातको रुख रहेको छ ।रासस
