रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका-१ मैकोटकी सलिना घर्ती गाउँमा पहिलोपटक भिडियोमार्फत् गर्भजाँच गराउन पाउँदा दङ्ग पर्नुभयो । भिडियो एक्सरे मेसिनसहित गाउँमै आएका चिकित्सक, स्वास्थ्यकर्मी र जनप्रतिनिधिले गर्भजाँच गर्दा घर्ती खुसी हुनुभयो । पैतीस हप्ता छ दिन पुगेको गर्भ पहिलोपटक भिडियो एक्सरेमार्फत् जाँच गराउनुभएकी घर्तीलाई घरआँगनमै यसरी सेवा पाउँला भन्ने लागेको थिएन रे । घरदैलोमै सेवा दिने सरकारको कार्यक्रमले असाध्यै सजिलो बनाएको उहाँले बताउनुभयो । पुथा उत्तरगङ्गा गाउँपालिका-२ की जोगनसरा विकले पनि आफ्नो पहिलो गर्भजाँच गाउँमै आएको चिकित्सकको टोलीसँग गराउनुभयो । “भिडियो एक्सरे गरेर गर्भजाँच गर्न पाएँ”, विकले भन्नुभयो, “कुन-कुन बेला के गर्ने के नगर्ने भनेर पनि सिक्न पाएँ ।” नियमित गर्भ जाँच, खानेकुराको व्यवस्थालगायतका कुरा गाउँमा आएको स्वास्थ्य टोलीले सिकाएको उहाँले जनाउनुभयो । पुथा उत्तरगङ्गा गाउँपालिकाले सञ्चालन गरेको उपाध्यक्ष स्वास्थ्य कार्यक्रमअन्तर्गत ‘गर्भवतीसँग उपाध्यक्ष कार्यक्रम’ लिएर गाउँ–गाउँमा गर्भवती खोज्दै जनप्रतिनिधि, चिकित्सक र स्वास्थ्यकर्मी दुर्गम गाउँमा पुग्ने गरेका छन् । गाउँपालिका उपाध्यक्ष भूपेन्द्रा बुढा, डा मिलन मल्ल, स्वास्थ्य शाखा प्रमुख समिर गिरीसहितको टोली गर्भवती महिलाको जाँच गर्दै गाउँ–गाउँमा पुगेको हो ।रासस
