पोखरा महोत्सवको माइलोबीच पनि बिहीबार केही महिला भने कुरुसमा औँला चलाइरहेका भेटिए । महोत्सवको एक व्यावसायिक कक्षमा टुक्रुक्क बसेका उनीहरू सीप सिक्ने ध्याउन्नमा थिए । ऊनीको धागोबाट उनीहरु स्वीटर, झोला, टोपी, पञ्जा आदि बुनिरहेका थिए । महोत्सव अवधिभरलाई निःशुल्क हाते बुनाइ तालिमको प्रबन्ध गरिएपछि महिला सीप सिक्न लालायित देखिएका हुन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् गण्डकी प्रदेश कार्यालयको सहयोगमा महोत्सव आयोजक युनाइटेड क्लब पोखराले महिलालाई लक्ष्य गरी सीपमूलक तालिम दिएको हो । सीप सिकाएर महिलालाई स्वरोजगार बन्ने बाटो देखाउन छोटो अवधिका लागि भए पनि तालिमको अवसर दिइएको परिषद्का प्रशिक्षक भीमकुमारी पुनले बताउनुभयो । उहाँका अनुसार गत पुस २७ गते महोत्सव सुरु भएयता हालसम्म २० जना तालिममा सहभागी भएका छन् । “केही दिदीबहिनी त झोला, कपडा बुन्न सक्ने भइसक्नुभएको छ”, उहाँले भन्नुभयो, “महोत्सवको समयले मात्रै पुगेन भने उहाँहरूलाई पछि पनि सिकाउँछौँ ।” पुनले यसअघि लेखनाथ र प्रदर्शनी केन्द्रमा भएको महोत्सवमा पनि महिलालाई स्वरोजार तालिम दिएको सुनाउनुभयो ।रासस
