५ माघ, काभ्रेपलाञ्चाेक ।

नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने बिपी राजमार्गमा फोहोर फाल्ने सवारीसाधन र यात्रुलाई कारबाही गर्ने भएको छ । नेपाल प्रहरीसँगको सहकार्यमा नगरपालिकाले बिपी राजामार्गमा फोहर गरे कारबाही गर्ने निर्णयसहित सचेत गराएको हो । प्रमुख कुन्साङ लामाले जानकारी दिनुभयो ।

उक्त राजमार्ग भएर जाने सार्वजनिक र निजी यातायातका साधन र यात्रुले जथाभावी फोहरजन्य सामग्री फाल्न थालेपछि नगरपालिकाको बजार व्यवस्थापन कार्यविधि, २०७८ र फोहरमैला व्यवस्थापन ऐन, २०६८ अनुरुप उक्त निर्णय गरेको हो ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच सार्वजनिक सवारीका साधनबाट उत्पन्न हुने फोहरमैला नियन्त्रण तथा व्यवस्थापन गर्ने विषयमा समझदारी भएको थियो । फोहोर फाल्नेलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ बमोजिम यातायात सवारी चालक वा यात्रुलाई कारबाही हुने समझदारीमा उल्लेख छ ।

नगरपालिकाले बुधबार एक कार्यक्रम गर्दै सवारीसाधनका चालक र यात्रुलाई फोहर नफाल्न अनुरोध गर्दै चेतनामूलक स्टिकरसमेत टाँसेको थियो । नगरप्रमुख लामासहित उपप्रमुख रत्नबहादुर लामा, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल वडा नं ६ का अध्यक्ष टीकाबहादुर केसी, वडा नं ७ का अध्यक्ष धर्म सिं लामा, वडा नं ४ का अध्यक्ष अर्जुन कार्की, युवा परिषद्का कार्यकारी अधिकृत रामेश्वर अधिकारी, वातावरण अधिकृत सन्तोष काफ्लेलगायत कर्मचारी, प्रहरीचौकी भकुण्डेबेँसीका इञ्चार्ज प्रहरी नायब निरीक्षक इन्द्रबहादुर राउत लगायतले चेतनामूलक स्टिकर टाँस गर्दै पालना नगरे कारबाही गर्ने बताउनुभयो ।

राजमार्ग सरसफाइका लागि नगरपालिकाले यसअघि पनि साताव्यापी कार्यक्रम गरेर सरसफाइ अभियान सञ्चालन गरिरहेकोसमेत अधिकृत लम्सालले बताउनुभयो । रासस