म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको दुई स्थानमा पहिराको प्राविधिक अध्ययन गर्न उपकरण जडान भएको छ । अन्नपूर्ण गाउँपालिका–३ को फगाम र काभ्रेभिरमा राखिएको डाटा लगरसहितको उपकरणमा चिस्यान मापन गर्ने यन्त्र, तापक्रम र आर्द्रता नाप्ने सेन्सर र ध्वनि उत्सर्जन गर्ने सेन्सर जडान गरिएको हो । उपकरणबाट प्राप्त हुने जमिनभित्रको तथ्याङ्कले पहिरो जान सक्ने अवस्थाबारे जानकारी दिएर पूर्व तयारी र मनसुन योजना बनाउन सहयोग हुने पहिरोको अनुसन्धान गरिरहेको सजग समूहका सदस्य निमा दोर्जे भुटियाले जानकारी दिनुभयो । “उपकरण राखिएको स्थानमा पानी कति प¥यो, कति कम्पन भयो र चिस्यान कति छ भन्ने कुरा सेन्सरमार्फत डाटा रेकर्ड भइरहेको हुन्छ,” उहाँले भन्नुभयो “यसमा पहिरो जाँदै छ भनेर साइरन बज्ने त हुँदैन तर जमिनभित्रको तथ्याङ्कले पहिरो जान सक्ने अवस्थाबारे जानकारी दिएर पूर्व तयारी गर्न, मनसुन योजना बनाउन सहज हुन्छ ।” त्रिभुवन विश्वविद्यालयसहित बेलायत, क्यानडा, न्युजिल्यान्डका विभिन्न विद्यालय, भूकम्प प्रविधि राष्ट्रिय समाज, सोसल साइन्स समेतको सहभागितामा भूगर्भ विज्ञान, सामाजिक विज्ञान र मानविकी सङ्कायका नेपाली तथा अन्तर्राष्ट्रिय अनुसन्धाता सहितको टोलीले उपकरण जडान गरेको हो ।रासस