नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ । प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत् चुहावट घटाएर सात दशमलव ४९ प्रतिशतमा झारेको छ । नियमितरुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरणले गत वर्षको मङ्सिरसम्मको वितरणतर्फको सञ्चित चुहावटको तुलनामा यस वर्ष एक दशमलव ७४ प्रतिशत बिन्दुले घटाइएको छ । गत वर्ष मङ्सिरसम्मको वितरणतर्फको विद्युत् चुहावट नौ दशमलव २३ प्रतिशत थियो । गत आर्थिक वर्ष २०७८÷७९ मा वितरणतर्फको समग्र विद्युत् चुहावट १० दशमलव ८६ प्रतिशत थियो । चालू आवको मङ्सिरसम्ममा वितरण प्रणालीमा चार अर्ब १४ करोड ७५ लाख युनिट विद्युत् प्राप्त भएकामा तीन अर्ब ८३ करोड ६७ लाख युनिट विद्युत् बिक्री भएको छ । एकतीस करोड सात लाख ७९ हजार युनिट विद्युत् चुहावट भएको छ । मङ्सिरसम्म प्रसारण लाइनतर्फको चुहावट चार दशमलव ५६ प्रतिशत छ । प्रसारण र वितरणतर्फ गरी मङ्सिरसम्ममा समग्र प्रणालीको विद्युत् चुहावट १२ दशमलव शून्य पाँच प्रतिशत छ । गत असारसम्ममा समग्र प्रणालीको विद्युत् चुहावट १५ दशमलव ३८ प्रतिशत थियो ।रासस