नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने बिपी राजमार्गमा फोहर फाल्ने सवारीसाधन तथा यात्रुलाई कारबाही गर्ने भएको छ । नेपाल प्रहरीसँगको सहकार्यमा नगरपालिकाले बिपी राजमार्ग प्रयोगकर्तालाई फोहरजन्य सामग्री फाले कारबाही गर्ने निर्णयसहित सचेत गराएको हो । सो राजमार्ग भएर यात्रा गर्ने सवारी साधनले जथाभावी फोहरजन्य सामग्री फाल्न थालेपछि नगरपालिकाको बजार व्यवस्थापन कार्यविधि, २०७८ र फोहरमैला व्यवस्थापन ऐन, २०६८ अनुरुप सो निर्णय गरेको नगर प्रमुख कुन्साङ लामाले जानकारी दिनुभयो । उहाँका अनुसार पालिका स्वयंले राजमार्ग सरसफाइ अभियानसमेत सञ्चालन गरिरहेको छ । तत्कालन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच सार्वजनिक सवारीका साधनबाट उत्पन्न हुने फोहरमैला नियन्त्रण तथा व्यवस्थापन गर्ने विषयमा समझदारी भएको थियो । जसअनुसार यात्राका क्रममा प्रयोग गर्ने पानीका बोतल, खानेकुराका अवशेष, प्लास्टिकका झोला आदि फोहरमैलाजन्य वस्तु झ्यालबाट फ्याँक्ने गरिएकामा त्यस्ता कार्य रोक्ने कार्यविधि बनाएको छ ।