पौवादुङमा गाउँपालिका केन्द्रको प्रमुख सौन्दर्यका रुपमा रहेको च्याङ्ग्रे पोखरीको संरक्षण भइरहेको छ । गाउँपालिकाले पर्यटकीय गन्तव्यका रुपमा विकास गरेर आर्थिक स्रोतसँग जोड्न रु दुई करोड बढी लागतमा निर्माण थालेको हो । सिङ्गो गाउँपालिकाको आकर्षण केन्द्रका रुपमा रहेको यो पोखरीलाई जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य मान्न सकिन्छ । पोखरीको बृहत्तर विकासका लागि गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर थप विकास गरिरहेको छ । पोखरीको मौलिकतालाई यथावत् राख्दै आधुनिक प्रविधिको प्रयोग गरेर विकासको काम भइरहेको गाउँपालिकाले जनाएको छ । क्रमागत योजनाअनुसार नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागत साझेदारीमा पोखरीको थप विस्तार तथा संरक्षणको काम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो ।रासस