सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तीन महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । तलब नपाउँदा कोठा भाडा तिर्न, बिहान बेलुका हातमुख जोर्न र बालबालिकाको विद्यालय शुल्क तिर्नसमेत समस्या भएको कर्मचारीहरुको गुनासो छ । समितिका स्वीपर सानुबहादुर पोडेलले रु ४५ हजारमा किनेको टेलिभिजन रु २० हजारमा बेचेर कोठा भाडा तिरेको बताउनुभयो । तीन महिनादेखि तलब नपाउँदा समितिका कविराज वैद्यका रुपमा कार्यरत आदित्य ठाकुरलाई पनि घर खर्च चलाउन मुस्किल भएको छ । समितिले क्षमताअनुसार औषधि उत्पादन गर्न नसक्दा समस्या हुन थालेको छ । समितिमा लामो समयदेखि कार्यालय प्रमुखका लागि विवाद हुँदै आएको छ । समिति गठन आदेशमा आयुर्वेद समूहको ११औँ तहको कर्मचारीलाई कार्यकारी निर्देशक बनाउने व्यवस्था भए पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १०औँ तहका कर्मचारीलाई निमित्त बनाएर पठाउन थालेपछि लामो समयदेखि कार्यालयमा विवाद हुँदै आएको छ । समितिका निमित्त कार्यकारी निर्देशक डा रामदेव यादवले उत्पादन नभएका कारण पैसा नभएर कर्मचारीलाई तलब खुवाउन नसकेको जानकारी दिनुभयो ।रासस