सरकारी स्वास्थ्य संस्थाको सेवाप्रति आम रुपमा निराशा बढेकै बेला महोत्तरीको बर्दिबास अस्पतालप्रति भने सर्वसाधारणको भरोसा बढ्न लागेको छ । बर्दिबास–२ बुद्धचोकस्थित बर्दिबास अस्पतालले विभिन्न प्रकारका २६ वटा सेवालाई नियमित गरेपछि सर्वसाधारणमा आशा बढेको हो । बर्दिबास अस्पतालले बुधबार मात्रै अब विज्ञ चिकित्सक र अत्याधुनिक उपकरणसहितको २६ वटा सेवालाई नियमितता दिने घोषणा गरेको छ । अस्पतालले बुधबार जनरल ओपिडी सेवा, सघन उपचार कक्ष सेवा, प्रसूति तथा महिला रोग सेवा र हाडजोर्नी तथा नसा रोगसम्बन्धी महत्वपूर्ण सेवा विस्तार गरेको छ । त्यसैगरी शल्यक्रिया, नवजात शिशु स्याहार, दाँत, मुख तथा गिँजासम्बन्धी समस्या, ल्याव, एक्सरे, भिडियो एक्सरे, ईसीजी, फार्मेसी, स्वास्थ्य बीमा र भर्ना सेवासहितको सुविधा विस्तार गरेको छ । अस्पतालले ज्येष्ठ नागरिक स्याहार केन्द्र, एकीकृत हिंसा व्यवस्थापन, सामाजिक सुरक्षा सेवा, परिवार नियोजन सेवा, सुरक्षित गर्भपतन सेवा, किशोरकिशोरी सेवा, शव परीक्षण सेवा, क्षयरोग उपचार सेवा, परामर्श तथा प्रेषण सेवा र सम्पूर्ण शरीरको जाँच सेवासहितका सुविधा नियमित गरिने जनाएको छ ।रासस