एक वर्षदेखि ओरालो लागेको नेपालगञ्ज भन्सारको राजस्व असुली यस वर्षको पुस मसान्तसम्म कायमै छ । आर्थिक वर्ष २०७८÷७९ को साउन र असोजमा मात्र लक्ष्य प्राप्त गरेको नेपालगञ्ज भन्सार कार्यालयले त्यसपछि आफ्नो निर्धारित लक्ष्य भेटाउन सकेको छैन । भन्सार राजस्व असुलीमा गत वर्ष साउनमा १३१ दशमलव ४८ प्रतिशत लक्ष्य रहेकामा भन्सारले चालु आर्थिक वर्षको साउनमा लक्ष्यको ७५ दशमलव ७१ प्रतिशत मात्रै असुली गर्न सफल भएको छ । सो कार्यालयको भन्सार राजस्व असुली चालु आर्थिक वर्षमा लक्ष्यभन्दा कम देखिएको छ । चालु आव २०७९÷८० को साउनमा रु एक अर्ब ७८ करोड पाँच लाख लक्ष्य पाएको भन्सारले जम्मा रु एक अर्ब ३५ करोड चार लाख र भदौमा रु दुई अर्ब २३ करोड ३६ लाख लक्ष्य पाएकामा रु एक अर्ब ४३ करोड ४९ लाख राजस्व असुली गरेको भन्सार अधिृत तथा सूचना अधिकारी डिल्लीप्रसाद शर्माले जानकारी दिनुभयो । यो लक्ष्यको ६४ दशमलव २५ प्रतिशत हो । चालु आवको असोजमा भन्सार असुली घटेर लक्ष्यको ५५ प्रतिशतभन्दा कममा झरेको छ । भन्सार कार्यालयको तथ्याङ्कअनुसार, असोजमा रु दुई अर्ब ३४ करोड १९ लाख राजस्व असुलीको लक्ष्य राखिएकामा रु एक अर्ब २८ करोड ४८ लाख (५४ दशमलव ८७ प्रतिशत) मात्रै राजस्व असुली भएको छ ।रासस