दुई महिना पहिले बागलुङको गलकोट नगरपालिका–७ मल्म गाउँकी एक गर्भवती सुत्केरी हुन् मल्म स्वास्थ्यचौकी पुग्नुभयो । सुत्केरी हुन स्वास्थ्यचौकी पुगेपछि स्वास्थ्यकर्मीले सुत्केरी गराउने सबै तयारी पूरा गर्नुभयो । प्रसूति व्यथाले च्यापेकी महिलालाई बर्थिङ सेन्टरमा राखियो । सम्भावित सबै जोखिम सामना गर्न स्वास्थ्यचौकीमा उपलब्ध स्वास्थ्यकर्मी तयार थिए । जब बच्चा जन्मिने बेला भयो, झ्याप्प बिजुली गयो । बच्चा जन्मिनै लागेकाले स्वास्थ्यकर्मीले हतार–हतार खल्तिमा रहेको मोबाइल निकाले । मोबाइलको लाइट बाले । मोबाइलको लाइटकै भरमा तीनजनालाई सुत्केरी गराएको स्वास्थ्यचौकीकी अनमी माधुरी नेपाली बताउनुहुन्छ । “धेरै ँ पटक हामीले मोबाइलको लाइटकै भरमा सुत्केरी गराएका छौँ, बेलाबेलामा काटिने विद्युत्को वैकल्पिक व्यवस्था नहुँदा समस्या भएको छ”, नेपाली भन्नुहुन्छ, “बर्थिङ सेन्टरजस्तो संवेदनशील ठाउँमा बत्तीको भरपर्दो व्यवस्था छैन ।” स्वास्थ्यचौकीमा बिजुली नभएका बेला ‘ब्याकअप’ को व्यवस्था नहुँदा समस्या हुने गरेको स्वास्थ्यचौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक अनिता कार्कीले बताउनुभयो । “हामीले ब्याट्री राखिदिन गलकोट नगरपालिकाको स्वास्थ्य शाखालाई आग्रह गर्दैआएका छौँ तर सुनवाई भएको छैन”, उहाँले भन्नुभयो ।रासस