वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइतले इसा अवार्डले नेपाल र नेपालीको सम्मान बढाएको बताउनुभएको छ । बहराइनले ‘इसा अवार्ड’ दिने घोषणा गरेपछि यहाँ आयोजित पत्रकार सम्मेलनमा डा रुइतले आफूले आँखाका क्षेत्रमा उल्लेख्य काम गरेकाले अवार्र्ड पाएको बताउनुभयो । उहाँले अवार्र्ड मुलुकका लागि सानो कुरा नभएकाले राज्यले पनि खुसी मनाउनुपर्ने उल्लेख गर्नुभयो । “आँखाको क्षेत्रमा ३५ वर्षदेखि गर्दैआएको कर्म हेरेर संसारले पनि मेरो सम्मान गर्दो रहेछ भन्ने थाहा भयो”, डा रुइतले भन्नुभयो, “अवार्डबाट संसारको मानचित्रमा नेपालीले राम्रो काम गर्दा रहेछन भन्ने देखाएको छ । नेपालीको आत्मसम्मान र प्रतिष्ठा विश्वभर बढाएको छ । त्यसलाई बचाउन यसले ठूलो सहयोग गरेको छ ।” सुरुमा अवार्ड पाउने खबर सुन्दा आफूलाई विश्वास नलागेको डा रुइतको भनाइ थियो । “यति ठूलो अवार्ड पाउँदा एकछिन त म आफँैले विश्वास गर्न सकेन । पछि राम्रो लाग्यो । अनि अवार्ड पाएको कुरा कसलाई भनुँ, कसलाई भनुँ भयो”, उहाँले भन्नुभयो । अवार्डले संसारमा अन्धोपनका क्षेत्रमा नेपाली गरेको योगदानलाई स्थापित गरेको डा रुइतको भनाइ छ । उक्त अवार्डका लागि एक सय ४५ व्यक्ति तथा संस्थाले मनोनयन दर्ता गराएका थिए । छ व्यक्ति तथा संस्था छनोट चरणको अन्तिम सूचीमा परेका थिए । वरिष्ठ आँखा चिकित्सक डा रुइतले नेपालमा अझ पनि पहुँच नपुगेको ठाउँमा आँखाको क्षेत्रमा काम गर्न प्रयास गरिरहेको बताउनुभयो । उहाँले सबै मिलेर नेपालमा पहुँच नभएको ठाउँमा आँखाको सेवालाई विस्तार र सर्वसुलभ बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । “आँखाको लेन्स बनाएर अन्तर्राष्ट्रियरुपमा निर्यात गर्नुपर्छ”, उहाँले भन्नुभयो ।रासस