खोटाङको रावाबेँसी गाउँपालिकामा सञ्चालित कोभिड–१९ अस्पताललाई रुपान्तरण गरेर निरन्तरता दिएपछि सेवाग्राही लाभान्वित भएका छन् । कोरोना महामारीका बेला स्थापना गरिएको अस्थायी कोभिड–१९ अस्पताललाई पाँच शय्याको बनाएर निरन्तरता दिइएको थियो । गाउँपालिकाको केन्द्र कुभिन्डेस्थित हरमटारमा सञ्चालित अस्पताललाई रुपान्तरण गरेर चौबीसै घण्टा स्वास्थ्य सेवा उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठले जानकारी दिनुभयो । “अस्पतालमा आपतकालीन, ओपिडी, प्रसूति, भिडियो एक्स–रे, इसिजीलगायत सेवा चौबीसै घण्टा उपलब्ध गराउने गरिएको छ”, उहाँले भन्नुभयो । अस्पतालमा एक चिकित्सकसहितको स्वास्थ्य सेवा पाएपछि स्थानीय बासिन्दा अन्यत्र धाउनुपर्ने बाध्यताबाट मुक्त भएका छन् । गाउँपालिकाको लगानीमा सञ्चालित सो अस्पतालमा गर्भवतीको भिडियो एक्स–रे र रगत जाँच निःशुल्क गरिनुका साथै ज्येष्ठ नागरिकलाई पनि भिडियो एक्स–रे सेवामा छुट दिइन्छ । अस्पतालमा दैनिक २० जनाको हाराहारीमा बिरामी आउने गरेको अस्पतालका प्रमुख डा मनोजकुमार साहले बताउनुभयो । कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि २०७७ सालमा कर्मचारी आवास भवनलाई अस्थायी कोभिड–१९ अस्पतालका रुपमा स्थापना गरिएको थियो । कोरोना सङ्क्रमण सामान्य भएसँगै अन्य कोभिड अस्पताल बन्द गरिए पनि रावाबेँसी गाउँपालिकाले भने अस्पतालमा रुपान्तरण गरेको हो ।रासस
