चीन–पाकिस्तान आर्थिक करिडोर (सीपीईसी)ले पाकिस्तानका लागि पर्याप्त अवसर सिर्जना गरेको र पाकिस्तानी जनताका लागि समृद्ध र शान्तिपूर्ण भविष्यको प्रत्याभूति दिएको पाकिस्तानको राष्ट्रिय सभाका सभामुख राजा परवेज अशरफले बताउनुभएको छ । “चीनद्वारा प्रस्तावित बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को प्रमुख परियोजना सीपीईसी पाकिस्तानका जनताका लागि दीर्घकालीन आर्थिक लाभ र दिगो विकाससँग जोडिएको छ,” अखिल पाकिस्तान चिनियाँ उद्यम सङ्घको दिगो विकास प्रतिवेदन–२०२२ को उद्घाटन समारोहमा सभामुख असरफले बताउनुभयो । सन् २०१३ मा सुरु गरिएको सीपीईसी पाकिस्तानको ग्वादर बन्दरगाह र उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको काशगरलाई जोड्ने करिडोर हो, जसले ऊर्जा, यातायात र औद्योगिक सहयोगलाई उजागर गर्दछ । सीपीईसीले पाकिस्तान–चीन सदाबहार रणनीतिक सहयोगात्मक साझेदारीको गहन विकास र बीआरआईको उच्च गुणस्तरको विकासलाई बढावा दिन महत्वपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यसले जनताको आकाङ्क्षा पूरा गर्छ, मन जित्छ र जीविकोपार्जनलाई फाइदा पुर्याउँछ । दुई सरकार, उद्यम र समाजका सबै क्षेत्रको संयुक्त प्रयासबाट सीपीईसी सहयोगले फलदायी परिणाम हासिल गरेको छ । साथै, पाकिस्तानको राष्ट्रिय निर्माण र क्षेत्रीय अन्तरसम्बन्धहरूमा यसले ठूलो योगदान पुर्याएको छ ।रासस