फ्रान्सदेखि आएको एटीआर विमान निर्माता कम्पनीको विज्ञ टोलीले गत आइतबार पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाबारे स्थलगत अध्ययन थालेको छ । बुधबार विमान खसेको ठाउँ सेतीखोँचमा पुगी उक्त टोलीले घटनास्थलको अवलोकन गर्नुका साथै दुर्घटनाबारे जानकारी लिएको हो । टोलीलाई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का कर्मचारी, सुरक्षाकर्मी, स्थानीयवासीलगायतले सहजीकरण गरिरहेका छन् । ‘ड्रोन’समेत उडाएर टोलीले घटनास्थलको अवलोकन गरेको थियो । दुर्घटनाको अध्ययनका लागि नौ सदस्यीय टोली मङ्गलबार नै पोखरा आइपुगेको थियो । नेपालमा पहिलोपटक भएको एटीआर विमान दुर्घटनाबारे निर्माता कम्पनीले पनि चासोपूर्वक लिएको जनाइएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले विदेशी विज्ञ टोलीले अध्ययन गरिरहेकोबारे सम्बन्धित निकायबाट जानकारी पाएको भए पनि आफूलाई यो विषयमा धेरै थाहा नभएको बताउनुभयो । “दुर्घटनापछि खोज, उद्धार, शव व्यवस्थापनलगायतमा सुरक्षा निकाय खटिन्छ, जाँच तथा छानविनको विषय हामीसँग सम्बन्धित हुँदैन”, उहाँले भन्नुभयो । विमान दुर्घटनापछि सरकार गठन गरेको जाँच आयोगलेसमेत दुर्घटनाबारे छानविन सुरु गरेको छ ।रासस