गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले वर्तमान सरकारले कुराभन्दा काम गरेर देखाउने बताउनुभएको छ । नेकपा (एमाले) व्यास नगर कमिटीले आज दमौलीमा आयोजना गरेको सम्मान कार्यक्रममा मुख्यमन्त्री अधिकारीले धेरै कुरा गर्ने तर काम नगर्ने प्रवृत्ति हाबी भएको भन्दै आफूहरु काममा केन्द्रित हुने उल्लेख गर्नुभयो । विकास नहुनुको मुख्य जड कुरा बढी गर्ने प्रवृत्ति रहेको भन्दै उहाँले भन्नुभयो, “अहिलेको सरकारले कामबाटै जनताको विश्वासलाई पूरा गरेर देखाउनेछ ।” मुख्यमन्त्री अधिकारीले जनताले कुरा गर्ने नेतालाई पत्याउन छाडेको बताउनुभयो । गण्डकी प्रदेश सरकारले केही दिनमै पूर्णता पाउने भन्दै मुख्यमन्त्री अधिकारीले सानो आकारको मन्त्रिमण्डल बनाइने प्रष्ट पार्नुभयो । “ठूलो आकारको सरकार बनाउने पक्षमा हामी छैनौँ, सानो र चुस्त आकारको मन्त्रिमण्डल बनाउँछौँ”, उहाँले भन्नुभयो । नेकपा (एमाले) स्थायी कमिटी सदस्य रहनुभएका अधिकारीले चौतर्फी घेराबन्दी हुँदा पनि पार्टीले सफलता हासिल गरेको बताउनुभयो । विकास निर्माणमा सरकारको स्रोतसाधनले भ्याएसम्मका काम गरिने बताउँदै मुख्यमन्त्री अधिकारीले भन्नुभयो, “पार्टीलाई एकताबद्ध भएर अगाडि बढाऔँ, एमाले लोकप्रिय पार्टी हो ।रासस