घोराही–६ अघराका रूप बुढामगरले व्यावसायिकरुपमा बाख्रा पाल्नुभएको छ । दुईपटक १० वर्षसम्म विदेशी भूमिमा पसिना बगाउनुभएका उहाँले अब स्वदेशमै केही गर्नुपर्छ भनेर बिएम बाख्रा फार्म खोलेर व्यवसायी बन्नुभएको हो । पहिले दुबईमा पाँच वर्ष र त्यसपछि मलेसियामा पाँच वर्ष बस्नुभएका बुढामगरले कोरोनाका कारण मलेसियाको कम्पनीमा काम कम रोकिएपछि नेपाल आएको बताउनुभयो । रोल्पा नगरपालिका–७ घापाबाट दाङको घोराही उपमहानगरपालिका–६ मा १६ वर्षअघि बसाइँ सरेर आएपछि श्रीमती रामकुमारी थापाले घर खर्च चलाउन चारवटा बाख्रा पाल्दै आएकीमा दुई वर्षअघि ती बाख्रासहित अन्य बाख्रा थपेर व्यावसायिकरूपमा अगाडि बढेको बुढामगरले जानकारी दिनुुभयो । अहिले उहाँका खोरमा ४६ वटा बाख्रामध्ये २४ माउ, १३ पाठापाठी, सात खसी र दुईवटा बोयर बोका छन् । बाख्रा पाल्नका लागि रु १० लाखको लागतमा तारजालीले बारेर व्यवस्थित खोर बनाइएको छ । दिउँसो बाहिर घाममा र बिहान बेलुका भित्र दुई ठाउँमा बाख्रा राख्ने खोर छन् । दाना खानलाई डुँड पनि व्यवस्थित बनाइएको छ । कतैबाट सहयोग भएमा एक सय वटासम्म बाख्रा पाल्ने उहाँको रहर छ । “युट्युबमा बाख्रा पालेको देखेको थिए त्यहाँ फाइदा भएको मात्रै देखाउने रैछ”, बुढामगरले भन्नुभयो, “त्यही देखेर बाख्रा पालनमा जोडिएको हुँ काम गर्न अलि गाह्रो हुने रैछ । बाख्रालाई दाना, घाँस र पराल सबै किनेर खुवाउने गरेको छु, बजारको दाना खुवाउँदिन ।” मकै र धान खरिद गरेर राखेको र घरमै सानो मिनी मिल रहेकाले त्यसैमा पिसेर दाना बनाउने गरेको र यस काममा आफूलाई श्रीमतीले सघाउँदै आएकीले सजिलो भएको उहाँले उल्लेख गर्नुभयो ।रासस