पछिल्लो समय खेती किसानीदेखि घरायसी काममा प्रयोग हुने विभिन्न आधुनिक उपकरणको विकास भइरहेका छन् । विद्युत र इन्धनबाट चल्ने त्यस्ता उपकरणले मानिसको श्रमशक्ति घटाएको छ भने समय र खर्चको पनि बचत गरेको छ । आधुनिक सामग्रीको विकास भएपनि कतिपय ठाउँमा अझै परम्परागत सामग्रीको प्रयोगमा कमी आएको छैन् । जिल्लाको मंगला गाउँपालिका–२ सिममा रहेको उखु पेल्ने कोलको लोकप्रियता कायमै छ । विसं २०१९ मा स्थानीयवासी खगेन्द्र केसीले कोल स्थापना गर्नुभएको थियो । हाल काठमाडौँमा बस्दै आउनुभएका उहाँले अहिले छिमेकी र घरकुरुवालाई कोल सञ्चालनको जिम्मा लगाउनुभएको छ । “पचास वर्षअघि जसरी उखु पेल्न आउने गर्दथे अहिले पनि त्यस्तै छ,” खगेन्द्रका छिमेकी समेत रहेका आफन्त दिपक केसीले भन्नुभयो “उखु पेल्ने आधुनिक मेसिन विकास भएपनि यो कोलको महत्व र प्रयोग कायमै छ ।” बेनी–दरवाङ सडकको छेउमै रहेको खगेन्द्रको घरमा हरेक वर्षको पुष र माघ महिनामा कोल जडान गरिन्छ । सो कोलमा उखु पेल्न बाबियाचौर, कुहुँ, अर्मन, बरंजाका साथै बेनी नगरपालिका र मालिका गाउँपालिकाबाट कृषकहरु आउने गरेका छन् । कोलमा उखु पेले वापत १५ लिटर बराबर रु ८० शुल्क तोकिएको छ । उखु पेल्न पालो लगाउनुपर्छ ।रासस
