डोल्पाको सदरमुकाम दुनै भर्खरै मात्र सडक सञ्जालसँग जोडिएको छ । सडक सञ्जाल जोडिएसँगै हप्तादिनदेखि देशका जुनसुकै ठाउँबाट पनि डोल्पाको दुनैसम्म सिधा यात्रा गर्न सकिने भएको छ । भेरी नदीमा अस्थायी पुल निर्माण भएसँगै डोल्पाको दुनैसम्म गाडीमा जान सकिने भएपछि स्थानीय खुसी भएका छन् । दुर्गम जिल्ला डोल्पामा यातायात सेवा विस्तार भएपछि स्थानीयलाई केही हदसम्म सहजताको अनुभूति गरेका छन् । सदरमुकाम दुनैबाट उपल्लो डोल्पाका तीनवटा पालिका जानका लागि अझै पनि पैदल वा घोडाको साहारा लिनुपर्ने बाध्यता भने यथावत् नै छ । त्यहाँका कर्मचारीहरू कार्यालयमा बसेर तलब, भत्ता मात्र खाने गरेको जनप्रतिनिधीहरु नै गुनासो गर्दछन् । अधिकांश काम दुनैबाट गर्ने र वर्षदिनमा हप्ता दिन जस्तो मात्रै कार्यालय पुग्ने पालिकाका कर्मचारीहरु सामाजिक सञ्जालमा काम गरेको पोष्ट राख्ने गरेका जनप्रतिनिधिको गुनासो छ । “जनतासँग दैनिक हामीले काम गर्नुपर्छ, कर्मचारी खोज्दा कोही पनि भेटिँदैनन्, फोन गर्दासमेत सम्पर्कमा नआएर दुःख दिने गरेको छार्काताङसुङ गाउँपालिका–३ का वानचिन गुरुङले बताउनुभयो ।रासस