आन्तरिक तथा बाह्य दृष्टिकोणले पर्यटकीय सम्भावना बोकेको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम ) जिल्लाको बर्दघाट नगरपालिका–५ स्थित कञ्चनगढी नजिक चमेरे गुफा फेला परेको छ । नेपालका एक सय पुरातात्विक, ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यमध्येको एक महत्वपूर्णस्थलका रुपमा रहेको कञ्चनगढी क्षेत्र भन्दा करिब डेढ किलोमिटर उत्तरमा चमेरे गुफा फेला परेको हो । विभिन्न प्रकृतिका आकृति देखिने पहरासँगै पानीको छहरामा रहेको उक्त गुफा क्षेत्रलाई अब कञ्चनगढीकै अर्को महत्वपूर्णस्थलका रुपमा विकास गरेर अघि बढ्ने बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताउनुभयो । स्थानीय वडावासी विष्णु पोखरेलले त्यो स्थानमा पानीको छहरा र पहरासँगै पहरामा गुफासमेत रहेकाले त्यसको विशेषता अझ बढी हुनसक्ने भएकाले त्यसको खोज अनुसन्धान हुन जरुरी रहेको बताउनुभयो । बर्दघाट नगरले कञ्चनगढी क्षेत्रको विकासका लागि तयार गरेको रु १४ करोडको लागत इस्टमेट अनुसार पर्यटकीय पूर्वाधारका लागि पहिलो चरणमा रु चार करोड ५६ लाखमा भौतिक निमार्ण कार्यलाई तीव्रता दिइरहेका बेला चमेरे गुफासमेत फेला परेपछि अब त्यस क्षेत्रलाई वृहत विकास क्षेत्र अन्तर्गत रहेर विकासको काम गर्ने नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले बताउनुभयो । उहाँले कञ्चनगढीदेखि चमेरे गुफा बीचको स्थानमा पर्ने कञ्चन छहरा र चमेरे गुफा भन्दामाथिको हात्ती दह समेटेर लघुजलविद्युत्सहित सिँचाइलाईसमेत जोडेर त्यसको विकास गर्न सकिने भएकाले सम्भाव्यता अध्ययन गरिने बताउनुभयो । प्रमुख प्रसाशकीय अधिकृत कृष्णप्रसाद सापकोटाले कञ्चनगढी क्षेत्र आसपासको १२÷१५ बिघा क्षेत्रमा बहुवर्षे फलफूलका बिरुवा रोप्नेदेखि गौशाला निमार्णको काम समेटेर गुरुयोजना बनाउने गरी अघि बढ्न सकिने सम्भावना देखिएको बताउनुभयो ।रासस